दरबन्दी अभावले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा चुनौतीपूर्ण बन्दै : नगरप्रमुख न्यौपाने

दमौली : तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पुरा गरेको अवसरमा मंगलबार स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दरबन्दी अभावले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा चुनौतीपूर्ण बनदै गएको बताए।
‘सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा व्यवहारिक रूपमा लागू हुन नसक्नुको मुख्य कारण संघीय सरकारले मागअनुसार शिक्षक दरबन्दी उपलब्ध नगराउनु हो’, उनले भने, ‘संविधानले निःशुल्क शिक्षाको अधिकार सुनिश्चित गरे पनि आवश्यक शिक्षक दरबन्दी नपाउँदा त्यो व्यवहारमा लागू हुन सकेको छैन ।’
‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा सामुदायिक विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षा दिन चुनौती देखिएको छ । यस विषयमा संघीय सरकारसँग निरन्तर दबाब दिँदै आएका छौ’, नगरप्रमुख न्यौपानेले भने, ‘सत्यवती माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विस्तारमा समेत गम्भीर समस्या रहेको छ । नमुना विद्यालयका रूपमा विकास गर्न कम्तीमा १५ रोपनी जमिन आवश्यक पर्ने भएपनि हाल विद्यालयसँग चार रोपनी मात्र लालपूर्जायुक्त जग्गा रहेको छ । ठाउँ अभावका कारण नजिकका विद्यालय गाभ्ने प्रयास गरिए पनि स्थानीयको असहमतिका कारण त्यो सम्भव हुन सकेको छैन ।’
नगर प्रमुख न्यौपानेले भोगचलनमा रहेका जग्गाको सिफारिसका आधारमा विद्यालयलाई नमुना विद्यालयको सूचीमा समावेश गरिएको उल्लेख गर्दै सत्यवती माविको शैक्षिक गुणस्तर राम्रो भएकै कारण विद्यार्थी भर्नाको चाप अत्यधिक बढेको बताए। उनले भने, ‘क्षमता र स्थानको अभावका कारण भर्ना हुन नपाएर फर्किनु परेका विद्यार्थीका लागि समेत आग्रह आउँछ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका सचिव प्रदीप अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोला, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय लेखा आयोग सदस्य मंगलप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले सामुदायिक विद्यालयको सुदृढीकरण, गुणस्तरीय शिक्षा र राज्यको दायित्वबारे धारणा राखेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गरेका कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयको स्वर्ण जयन्ती समारोहका अवसरमा बोर्ड परीक्षा तथा आन्तरिक परीक्षामा आफ्ना विषयमा शतप्रतिशत नतिजा हासिल गराउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो । साथै एमबिबिएस, बीएससी नर्सिङलगायत विभिन्न विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
यसै अवसरमा नगरप्रमुख वैकुण्ठ न्यौपानेद्वारा विद्यालयको पाँच दशक लामो शैक्षिक यात्रा समेटिएको ‘स्वर्ण स्मारिका’को लोकार्पण गरिएको थियो । स्मारिकाले सत्यवती माविको ऐतिहासिक योगदान र शैक्षिक विरासतलाई दस्तावेजीकरण गर्ने विश्वास गरिएको छ। सो अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
वि.सं. २०३१ सालमा दीप प्रज्ज्वलनसँगै सुरु भएको सत्यवती माध्यमिक विद्यालय आज तनहुँ जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ । हाल विद्यालयमा करिब तीन हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।









