तनहुँको शुक्लागण्डकीमा दुई जनाको मृत्यु, दुई घाइते
तनहुँ : तनहुँको शुक्लागण्डकीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । करेन्ट लागेर एक जनाको र एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा बुधबार राति करिब ११ बजे आफ्नै डेराकोठामा अचानक करेन्ट लागेर अचेत भएका शुक्लागण्डकी–९ घारी स्थायी घर भई हाल दुलेगौंडामा डेरा गरी बस्ने ४५ वर्षीय खड्कबहादुर गौतमलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा लगिएको थियो । अस्पतालले राति ११ः२२ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
करेन्ट लागेका गौतमलाई छुटाउने क्रममा शुक्लागण्डकी–४ दुलेगौंडाका ६५ वर्षीय डिलबहादुर सार्कीलाई समेत करेन्ट लागेको थियो । उनको उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मृतककी ४१ वर्षीया श्रीमती पार्वती गौतमलाई पनि करेन्ट लागेको थियो । उनको दाहिने हातको बुढी औँलामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।
घटनापछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतक गौतमको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर शुक्लागण्डकीमा वृद्धको मृत्यु
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–९ लामिसुँहारामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार राति चट्याङ लागेर ७३ वर्षीय हुमबहादुर सुस्लिङ मगरको मृत्यु भएको हो । उनी आफ्नै घरको माथिल्लो तलामा रहेको सुत्ने कोठाको ढोकानजिक मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।









