प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेस नेता रामचन्द्रलाई गृह जिल्लामै तगारो !
सविन लामिछाने/तनहुँ

स्थानीय तहको निर्वाचनमा तनहुँमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी शून्य बन्यो । तनहुँका १० पालिकामध्ये भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा नेपाली कांग्रेससँग तालमेल गरे पनि नेकपा एमालेसँग पराजित हुन पुग्यो । अन्य पालिकामा पनि एकीकृत समाजवादीको प्रभाव देखिएन । धरौटी नै जफत हुने गरी पराजय भोग्नुपर्यो।
पालिकामा शून्य हुन पुगेको नेकपा एसलाई भानु नगरपालिका र व्यास नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांगे्रसले स्थान दिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पनि नेकपा माओवादीलाई उपप्रमुख सहित ३ सिट दिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय तनहुँमा सक्रिय राजनीतिक गतिविधि बढाइरहेका छन् । उनि गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार बन्न लागि परेका छन् । लामो समय पार्टीलाई योगदान गरेका वरिष्ठ नेता पौडेललाई सर्वमान्य नेता बन्ने चाहाना छ । तर, समयअनुसार धार परिवर्तन र आफनै गृह जिल्लामा पार्टी भित्रको किचलोको कारण उनको राजनीतिक आधार कमजोर बन्दै गएको छ ।
आफ्नै गृह जिल्लामा कमजोर बन्दै गएका पौडेल आगामी चुनावमा भने ‘सुरक्षित’ हुने दाउमा छन् । सत्तारुढ गठबन्धनलाई प्रतिनिधि सभासम्म लैजाने र आफू अबको प्रधानमन्त्री हुने उनको चाहना रहेको देखिन्छ । ‘उहाँ अबको प्रधानमन्त्री नै हो । क्षेत्र नं १ बाट उहाँ उठ्नुहुन्छ,’ तनहुँका एक कांग्रेस नेताले भने, ‘गठबन्धनलाई चुनाव पछि पनि निरन्तरता दिने र आफू प्रधानमन्त्री हुने उहाँको चाहना हो ।’
वरिष्ठ नेता पौडेलले दाबी गरेजस्तो गरी उनले सजिलै टिकट पाउन सहज देखिएको छैन । स्वयं कांग्रेस तनहुँ भित्र मच्चिएको हुण्डरीले गर्दा पौडेललाई टिकट पाउन सहज नदेखिएको हो । २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कृष्ण कुमार श्रेष्ठ किसान अहिले नेकपा (एकीकृत समाजवादी) मा छन् ।
अघिल्लो निर्वाचनमा जितेको हुनाले यसपटक पनि यहि क्षेत्रमा उठ्ने उनको अडान रहेको छ । उनि बारा-४ मा उम्मेदवारी दिने पनि चर्चा छ। बारामा उनको ठूलो लगानी भएका उद्योग, कलकारखाना रहेकाले पनि उनले उम्मेदवारी दिने चर्चा भएको हो ।
२०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दा विजयी बन्दै आएका छन् । तर २०७४ मा वरिष्ठ नेता पौडेल क्षेत्र नं १ बाट उठ्दा पहिलो पटक निर्वाचन हारेका थिए । पौडेल चितवन जाने पनि चर्चा छ । तर उनी पछिल्लो समय तनहुँ क्षेत्र नम्बर १ मा सक्रिय भइरहेका छन् । पौडेल चितवनबाट उम्मेदवार बने पनि यो क्षेत्रमा कांग्रेसकै नेताहरूबीच हानथाप पर्ने निश्चित छ ।
२ निर्वाचन क्षेत्र रहेको तनहुँमा कांग्रेसको केन्द्रीय स्तरका नेताहरूसमेत धेरै छन् । शंकर भण्डारी, गोविन्द भट्टराइ नाम क्षेत्र नं १ को लागि सिफारिस गरिएको हुँदा क्षेत्र भागबण्डाका लागि अप्ठ्यारो देखिएको छ । स्थानीय तहमा कांग्रेसले पाएको मतलाई आधार मान्ने हो भने पनि कांग्रेसलाई यो क्षेत्र नछोड्न दबाब पर्छ । तनहुँ कांग्रेसका सचिव लक्ष्मीभक्त खनालले भने, “अघिल्लो चुनाव पो हारेको हो, यस अघिका निर्वाचनलाई हेर्ने हो भने यो त काँगे्रसको किल्ला हो नी, प्रदेशमा दिन सकिन्छ तर संघमा दिदैनौं ।”
नेकपा एमालेले यो क्षेत्रको वडाध्यक्षमा ३३ हजार १०६ मत पाएको छ । एमालेले २२ हजार २१० मत पाएको छ भने माओवादीले ८ हजार ४७४ मत ल्याएको छ । क्षेत्र नम्बर १ का सांसद रहेका किसान श्रेष्ठको पार्टी एकीकृत समाजवादीले ८९२ मत मात्रै पाएको थियो ।
कांग्रेस तनहुँका नेताहरुले बरिष्ठ नेता पौडेललाई कि समानुपातिकमा बस्न वा तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न सुझाव दिइरहेका छन्। तर, पौडेलले भने एमालेको पकड रहेको क्षेत्र नम्बर २ भन्दा १ लाई नै सुरक्षित मानेका छन् ।
कांग्रेसका नेता शंकर भण्डारी र गोविन्द भट्टराइले समेत टिकटका लागि आ-आफ्ना गोटी चलाइरहेका छन् । उनीहरु दुबै केन्द्रीय सदस्य भएकाले नेतृत्व दबावमा छ । दुबैले क्षेत्र नं. १ नछाड्ने दाबी समेत गर्दै आईरहेका छन् । गएको कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिको दाबेदार रुपमा प्रस्तुत हुँदै आएका थिए । तर, पार्टी भित्रको आन्तरिक किचलो र आफ्नै समूहमा अलोकप्रिय बन्दै गएपछि उनी निष्कृय भए ।
महाअधिवेशनमा निष्कृय भएपनि उनले भित्रि रुपमा सभापति देउवालाई सहयोग गरेका थिए । जिल्लामै कमजोर हुँदा गएको पार्टी महाधिवेसनमा पनि आफू निकट वैकुण्ठ न्यौपानेलाई जिल्ला सभापतिमा जिताउन सकेनन् । स्थानीय तहको निर्वाचनमा पनि व्यासको मेयरमा न्यौपानेलाई मुस्किलले जिताउन सके । उनको आफ्नै गृह पालिकामा आफू निकटलाई कांगे्रसबाट असन्तुष्ट बनेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कडा टक्कर दिँदा पौडल झन् कमजोर बन्दै गएको प्रष्ट हुन्छ ।
व्यासको मेयरमा आफ्नो छोरा दीपकले हार व्यहोरे पनि जिल्लामा आफूबिनाको काँगे्रस कमजोर रहेको जोशीको दाबी छ । अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा वरिष्ठ नेता पौडेल विरुद बागी उम्मेदवारी दिएको भन्दै उनलाई पाँच वर्षका लागि पार्टीबाट हटाइएको थियो । वरिष्ठ नेता पौडेलसँग अघिल्लो निर्वाचनमा आमनेसामने नभए पनि यसपटक भने ‘जम्काभेट’ हुने निश्चितप्रायः छ । किनकी यसपालि पनि नेता जोशीले क्षेत्र नं. १ बाटै उठ्ने तयारी गरिरहेका छन् । अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज भएपछि तत्कालीन नेकपा एमालेबाट उठेका कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई सघाएको चर्चा चल्ने गरेको छ । यता क्षेत्र नं २ मा भने प्रदिप पौडल, ध्रुव वाग्ले दाबेदारको रुपमा प्रस्तुत भएका छन् ।
नेकपा (एमाले) का तर्फबाट क्षेत्र नं. १ मा एक बहादुर रानाको नाम सर्वसम्मत सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रबाट पनि हरिबहादुर चुमानले क्षेत्र नं १ मा दाबी गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यसैगरी तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र रुपमा प्रविण पौडेलले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
उता तनहुँ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का तर्फाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधि सभा सदस्य केदार सिग्देलको नाम सिफारिस गरिएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादी तनहुँले समेत किसान श्रेष्ठ, कलिना खान लगायतको नाम सिफारिस गरेको छ । सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ ।
तनहुँको निर्वाचन क्षेत्र नं १ मा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको वडा नं १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ नम्वर वडाहरु पर्दछन् । क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा व्यास नगरपालिकाको वडा नं २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिका पर्दछ भने प्रदेश क्षेत्र (ख) मा व्यास नपाको वडा नं १, १२, १३, १४, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।
यस्तै, क्षेत्र नं. २ मा शुक्लगण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, क्रषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको वडा नं. ५ र ६ पर्दछ । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (क) मा म्याग्दे गाउँपालिका, शुल्कगण्डकी नगरपालिका र व्यास नपाको ५ र ६ नम्वर वडा पर्दछन् भने प्रदेश क्षेत्र (ख) मा भिमाद नगरपालिका, घिरिङ गापा, क्रषिङ गाउँपालिका पर्दछन् ।










