घिरिङको एक घर : एक धारा अभियान, विकट च्याचुल गाउँमा खानेपानी पुगेपछि छायो खुसियाली
भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिकाले सहज रुपमा खानेपानी उपभोग गर्नबाट बञ्चित गाउँबासिलाई लक्षित गरी एक घर एक धारा अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको उक्त अभियान अन्तरगत वडा नं. ५ को च्याचुल गाउँमा खानेपानी वितरण सुरु गरिएको छ । वर्षौदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका यहाँका स्थानीयवासीलाई स्वच्छ खानेपानी सुविधा पुर्याउने उद्देश्यसहित गाउँपालिकाले खानेपानी योजना निर्माण कार्य अगाडि बढाएको थियो ।
समुद्र सतहबाट करिब एक हजार ५० मिटर उचाइमा अवस्थित च्याचुल गाउँमा लिफ्ट प्रविधिबाट अलैची खानेपानी योजना निर्माण सम्पन्न गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले बताए । गाउँपालिकाको ६२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको योजनाबाट ४६ घरधुरीमा खानेपानी वितरण गरिएको छ ।
गत वर्षबाट निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना त्रासका कारण केही समय ढिलाइ भएको थियो । ‘कोरोना त्रास न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो’, श्रेष्ठले भने, ‘घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुशी छन् । घरघरमै धारा जडान भएको खुशीयालीमा स्थानीयवासीले नाचगानसमेत गरेका थिए ।’
बस्ति भन्दा टाँढा रहेको कुँवा र पँधेराको पानी घण्टौ समय खर्चिएर उपभोग गर्दै आएका स्थानीयको घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीय बासिन्दालाई राहत पुगेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
उक्त खानेपानी योजनाको मंगलबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रानाले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी पुर्याउने योजना साथ अगाडि बढेको बताए । उनले खानेपानीको जोहोका लागि बिहानैदेखि भौतारिनुपर्ने दुःखको अन्त्य भएको छ अब पानी खोज्नका लागि खर्चिने समयको बचत भएको छ र सरसफाई, करेसाबारीको काममा पनि सहज हुने विश्वास व्यक्त गरे ।
खानेपानी सुविधा नपुगेका ठाउँमा एक घर : एक धारा अभियान सञ्चालन गरिएको बताउँदै अध्यक्ष रानाले भने, ‘हामीले भखरै उज्यालो घिरिङ अभियान सञ्चालन गरी यहाँका घरघरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा घरघरमा जडान गरिसकेका छौ र अब खानेपानी सहज रुपमा उपभोग गराउने अभियान पनि अन्तिम चरणमा पुर्याएका छौं ।’
गण्डकी प्रदेश सरकार, गाउँपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रम, पश्चिम नेपाल लगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पुर्याउने अभियान सञ्चलन गरिएको छ । हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर : एक धारा अभियान सम्पन्न भएको छ ।

करिब ४५० घरधुरीमा एक घर : एक धारा अभियान सम्पन्न हुने चरणमा रहेको छ । घिरिङ गाउँपालिका-१ स्थित गढिपल्लो गाउँ, पोख्रेलटोल, लामादी खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली, पुट्टारमा खानेपानीको काम भइरहेको अध्यक्ष रानाले बताए ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ रुपैयाँको लागतमा पाँचवटा योजना निर्माणाधीन अवस्थामा छन् । स्किम-१ अन्तर्गत कटहरेमा दुइ करोड पाँच लाख ८३ हजार ११९ रुपैयाँ, स्किम-२ अन्तर्गत पुट्टारमा दुइ करोड १४ लाख ६८ हजार ६२१ रुपैयाँ, स्किम-३ अन्तर्गत बैडीमा चार करोड आठ लाख १३ हजार ४२४ रुपैयाँ, स्किम-४ अन्तर्गत भन्टारमा ५९ लाख १०४ रुपैयाँ र स्किम-५ अन्तर्गत अत्रौलीमा एक करोड ७३ लाख दुइ हजार ६४० रुपैयाँको लागतमा खानेपानी योजना निर्माण हुनेछ ।
बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । डिभिजन खानेपानी कार्यालयका अनुसार स्किम-१ बाट कटहरेका ८६, स्किम-२ अन्तर्गत पुट्टारका ८५, स्किम-३ अन्तर्गत बैडीका २४२, स्किम-४ अन्तर्गत भन्टारका ३९ र स्किम-५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।
घिरिङ-२ स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।
घिरिङ-३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासमा प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा निर्माणाधीन छ । घिरिङ-४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।










