बन्दीपुर अस्पताल पुग्न अब इभी माइक्रो, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा

अस्पतालद्वारा विभिन्न शाखाका उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी पुरस्कृत

बन्दीपुर : तनहुँको पुरानो सदरमुकाम बन्दीपुरस्थित बन्दीपुर अस्पतालले बिरामीको अस्पतालसम्मको पहुँच सहज बनाउन सहुलियतपूर्ण विद्युतीय (इभी) माइक्रो सेवा सञ्चालनमा ल्याएको छ ।

भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने बिरामीलाई लक्षित गर्दै संविधान दिवसको अवसर पारेर शनिबारदेखि माइक्रो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिले अस्पताल आउन–जान निःशुल्क यात्रा गर्न पाउनेछन् । अन्य बिरामीका लागि भने निर्धारित भाडामा ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए । सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले अस्पतालसम्म पुग्न यातायातकै कारण समस्या भोग्दै आएका गाउँबस्तीका नागरिकलाई नयाँ सेवाले राहत पुग्ने बताए ।

उनका अनुसार स्वास्थ्य सेवा गाउँमै पु¥याउने प्रयाससँगै बिरामीलाई स्वास्थ्य संस्थासम्म सहज रूपमा ल्याउने व्यवस्था आवश्यक थियो। इभी माइक्रो सञ्चालनपछि विपन्न परिवार, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई समयमै उपचारका लागि अस्पताल पुग्न सहज हुने उनको भनाइ छ ।

गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले विस्तारित ओपिडीपछि सुरु गरिएको सहुलियतपूर्ण यातायात सेवाले स्वास्थ्य सेवाको पहुँच विस्तारमा थप सहयोग पुग्ने बताइन्। आर्थिक अवस्था वा दैनिक कामका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उनले बताइन् ।

बिहान ७ देखि बेलुकी ८ बजेसम्म ओपिडी

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार दूरदराजका बिरामीलाई अस्पतालसँग जोड्ने उद्देश्यले माइक्रो भाडामा लिएर यातायात सेवा सञ्चालन गरिएको हो ।

अस्पतालले सातामा सातै दिन विस्तारित ओपिडी सञ्चालन गर्दै आएको छ। बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने सेवाले विशेषगरी दैनिक ज्यालादारी मजदुर, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सहज भएको अस्पतालको अनुभव छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको ओपिडीबाट २३ हजार ९८० जनाले सेवा लिएका थिए । त्यसमध्ये ११ हजार ८०९ जना अर्थात् ४९.२५ प्रतिशतले नियमित समयबाहेकको अतिरिक्त समयमा उपचार सेवा लिएका छन् । काम वा पढाइ छाडेर अस्पताल आउनुपर्ने बाध्यता कम भएपछि अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या उल्लेख्य रहेको डा. गिरीले बताए ।

बन्दीपुरमै नयाँ परीक्षण सेवा

अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवाको दायरा विस्तारसँगै आधुनिक उपकरण थप गर्दै लगेको छ । दाताको सहयोगमा अत्याधुनिक ‘क्लीया’ तथा स्वचालित उपकरण जडान गरी बन्दीपुरमै पहिलोपटक थाइराइड, भिटामिन–डी र भिटामिन बी–१२ परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

आकस्मिक उपचारलाई प्रभावकारी बनाउन ‘डिफिब्रिलेटर’ उपकरणको व्यवस्था गरिएको छ भने रेबिजविरुद्धको खोपसमेत नियमित उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

अस्पतालले चालु आर्थिक वर्षभित्रै थप स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ। योजनाअनुसार फिजियोथेरापी, पोस्टमार्टम, डायलायसिस, अपरेसन थिएटर, ब्लड बैंक, थ्री–डी भिडियो एक्सरे तथा क्याबिन सहितको भर्ना सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार यातायातदेखि उपचारसम्मका सेवा विस्तार गर्दै बन्दीपुर र आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय तहमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

कर्मचारीहरु पुरस्कृत

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालले सञ्चालनमा ल्याएको सेवाग्राहीलाई निःशुल्क ई.भी. माइक्रो सेवा सञ्चालन तथा कर्मचारी सम्मान कार्यक्रमका अवसरमा पब्लिक हेल्थ कार्यक्रम फोकल पर्सन, तथ्याङ्क अधिकारी, मातृ तथा नवजात शिशु कार्यक्रम संयोजकका रुपमा कार्यरत सिनियर अ.न.मि. निरिक्षक बिमला पोख्रेल कट्टेललाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गरिएको छ ।

सो अवसरमा अस्पतालका चिकित्सक तथा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई विभिन्न विधाबाट नगद, प्रमाणपत्रसहित गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङ, अस्पतालका प्रमुख डा. अनिल गिरीले पुरस्कृत गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker