११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो
भञ्ज्याङ समाचारदाता/भानु
तनहुँका १० वटै पालिकामा विविध कार्यक्रम गरी ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । ‘लैंगिक समानाताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको बिस्तार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो।
भानु नगरपालिकाले भानु महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था भानु-२, बरभञ्ज्याङ महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था भानु-५, शिलादेबी महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था भानु-१०, सुरक्षित महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था भानु-९ र नाउदी महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था भानु-११ को समन्वयमा महिला हक अधिकारका विषयमा चर्चा गरी दिवस मनाइएको छ ।
नगरप्रमुख आनन्दराज त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै महत्वपूर्ण दिनको रुपा लिईने नारी दिवशलाई आगामी वर्षरुमा अझ भब्य रुपमा मनाउन सप्ताहब्यापी रुपमा वडा-वडामा विविध जनचेतना मूलक कार्यक्रम गरी मनाईने प्रतिबद्धता ब्यक्त गरे ।
नगरप्रमुख त्रिपाठीले महिलाहरुको पहुँच हरेक क्षेत्रमा हुने गरी संबिधान मै ब्यवस्था गरेकाले अधिकार प्राप्तिका लागि सबै सचेत रहन आग्रह गरे । उनले महिलाहरु आर्थिक रुपमा पनि सवल बन्नका लागि आय आर्जनमा जोडिनुपर्ने बताए ।
वडा नं. १ की वडा अध्यक्ष कान्छीमाया तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष एवं नगर पालिकका प्रबक्ता इश्वरबहादुर घिमिरे, वडा नं. ४ का अध्यक्ष अर्जुनबहादुर बोहोरा, वडा नं. १० का अध्यक्ष हरिहर उप्रेती, नगरपालिकाकी कार्यपालिका सदस्य साबित्री सुनार, भानु महिला बिकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष खिममाया गुरुङ लगायतले महिलाहरुले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै आफ्नो काम, कर्तब्य र अधिकार भुल्न नहुनेमा जोड दिए ।
कार्यक्रममा २१ वटा महिला समूहबाट ब्यानर सहित सहभागिता जनाएका थिए । सहभागि ७ समूहद्वारा जनचेतना मूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । दिवसका अवसरमा आयोजित बेलुन फुटाइ प्रतियोगितामा १४ जनाको सहभागिता रहेकोमा भानु-१ निबासी अमृता गुरुङ प्रथम भएकी छन् । भानु-१ को सालबिस्नेस्थित सत्यदेवी आधारभूत विद्यालय अगाडि भेला भई प्ले कार्ड सहित सहभागिहरु नाराबाजी गर्दै कार्यक्रम स्थल ग्रीनपार्क पुगेका थिए ।