नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर

आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ। तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै स्याङ्जाको वालिङमा महिला फुटबल, गोरखामा बुद्धिचाल, नवलपुरमा सेपाकताक्रो र कुस्ती प्रतियोगिता खेलाइने भएको छ ।

गण्डकीमा खेल पूर्वाधार नभएका कारण सुटिङ प्रतियोगिता काठमाडौँमा राखिएको राखेपले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट पनि अहिले काठमाडौँमा जारी छ । यीबाहेक बाँकी २७ खेलका प्रतियोगिता पोखरामा सञ्चालन हुनेछ।

अधिकांश खेल पोखरा रङ्गशालामा खेलाइनेछ । प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राखेपले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । पूर्वाधार अभावकै कारण कतिपय जिल्लामा चाहेर पनि प्रतियोगिता राख्न नसकिएको राखेपको भनाइ छ ।

प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रहे पनि आसपासका जिल्लामा समेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने ठानिएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङका उपाध्यक्ष लोकेन्द्र केसीले यसलाई अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

“राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उहाँले भन्नुभयो, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।” बागलुङमा हुने आइटिएफ तेक्वान्दोमा खेलाडी र अफिसियल गरेर झण्डै पाँच सय खेलाडी सहभागी हुनेछन् ।

आइटिएफमा सात प्रदेश र दुई विभागीय टिम नेपाली सेना र सशत्र प्रहरीले भाग लिने भएका छन् । बागलुङ सदरमुकामस्थित रामरेखा र रुद्रेपीपल कर्भड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न तयारी अगाडि बढाइएको छ ।

यही असोज २८ देखि कात्तिक २ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडीका लागि होटल, यातायात व्यवस्थापनदेखि नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उपाध्यक्ष केसीले बताउनुभयो ।

चार दशकपछि पोखरामा दोस्रोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ ।

यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, ‘फुल कन्ट्यान्ट’ कराँते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन हुनेछ ।

ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलका रूपमा राखिएको जनाइएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीयसहित गैरआवसीय नेपाली सङ्घ (एनआरएन) टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने सबै टिमले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सुरु गरेका छन् ।

गण्डकीबाट छनोट भएका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्का अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिनेछन् ।

विसं २०४० चैत १२ देखि २० गतेसम्म राष्ट्रिय खेलकुदको दोस्रो संस्करण पोखरामामा आयोजना गरिएकामा चार दशकपछि नवौँ संस्करण पनि यहीँ हुन लागेको छ ।

प्रदेशमा पूर्वाधार नहुँदा काठमाडौँकै भर

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट हाल काठमाडौँमा जारी छ भने सुटिङ पनि काठमाडौँमै खेलाइनेछ । पूर्वाधार अभावमा ती खेलका लागि काठमाडौँमै भर पर्नुपरेको हो ।

प्रदेश खेलकुद परिषद्का अनुसार गण्डकीमा एउटा सुटिङ रेञ्जसम्म छैन । परिषद्का अध्यक्ष तेजबहादुर गुरुङले सुटिङका लागि खेल पूर्वाधार र सामग्रीको अभाव रहेको बताउनुभयो । “इन्डोर खेल भएकाले सुटिङका लागि ठूलो हल चाहिन्छ, हतियार, गोलीदेखि अरु महँगा सामग्री यसमा प्रयोग हुन्छन्”, उहाँले भन्नुभयो, “प्रदेशमा पूर्वाधार नै नभएपछि सुटिङलाई काठमाडौँ लैजानुको विकल्प रहेन ।”

परिषद्ले प्रदेशबाट छनोटमा परेका सुटिङ खेलाडीलाई पनि काठमाडौँमै लगेर बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ । ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती केसीले सुटिङ खेल राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो ।

“एशियनदेखि सागसम्म खेलेका खेलाडी हामीसँग छन्, सुटिङमा नयाँ खेलाडी उत्पादन हुने सम्भावना पनि उत्तिकै छ”, प्रशिक्षक केसीले भन्नुभयो, “बिडम्वना भन्नुपर्छ, राज्यबाट यो खेल उपेक्षामा परेको छ, लगानी, पूर्वाधार केही छैन ।” पोखरा रङ्गशालाभित्र सुटिङ रेन्ज बनाउने योजना पनि अलपत्र परेको उहाँको गुनासो छ ।

सुटिङ रेञ्ज बनाउन २२ मिटर लम्बाइ र चौडाइ भएको जग्गा चाहिन्छ । सुटिङ खेलका लागि पेस्तोल, राइफल, गोली, टार्गेट, टार्गेट बक्स (पुल्ली), पञ्जालगायतका सामग्री खाँचो पर्छ । राइफलका लागि छुट्टै जुत्ता, पाइन्ट, ज्याकेट र बेल्ट चाहिन्छ । इन्डोर खेलिने सुटिङमा सानो सिसाको गोली प्रयोग हुन्छ । गोली चीन र जर्मनीबाट ल्याउने गरिएको छ ।

सुटिङमा गण्डकी प्रदेशका तर्फबाट बागलुङका नौ र कास्कीका तीन खेलाडी छनोटमा परेका छन् । १० मिटरको एयर पेस्तोलमा तीन महिला, तीन पुरुष र एयर राइफलमा पनि तीन पुरुष र तीन महिला खेलाडी छानिएका हुन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker