महिला बास्केटबलमा सम्भावना भए पनि लगानी न्यून

भञ्ज्याङ समाचारदाता/दमौली

केही समय अगाडि माल्दिभ्समा सम्पन्न साबा च्याम्पिनसीपमा नेपाली महिला बास्केटबल टिम दोस्रो हुन सफल भयो । श्रीलङ्कासँग फाइनलमा पराजित हुँदै नेपाली महिला बास्केटबल टिम दोस्रो भएको थियो ।

नेपालमा महिला बास्केटबलको पर्याप्त सम्भावना रहेको औंल्याइएको छ । नेपालको महिला बास्केटबल दक्षिण एशियामा दोस्रो स्थानमा रहेको नेपाल बास्केटबल संघका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठ बताउँछन् ।

‘बास्केटबलमा नेपालको धेरै राम्रो सम्भावना छ, बास्केटबलमा खेलाडीको आकर्षा बढ्दो छ’, श्रेष्ठले भने, ‘चुनौति भनेको पूर्वाधार अभाव हो ।’ बास्केटबलका लागि पर्याप्त पूर्वाधार निर्माण गरेर बास्केटबल खेल्ने खेलाडीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने श्रेष्ठले बताए ।

‘बास्केटबलमा महिला खेलाडीको आकर्षण बढाउन खेलाडीलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्छ, खेलकुदमा सरकारको लगानी प्रशस्त छैन’, उनले गुनासो गरे, ‘कतै खेल खेलाउनुपर्‍यो भने प्रायोजक खोज्नुपर्ने अवस्था छ ।’ बास्केटबलमा अहिले भइरहेको लगानी पर्याप्त नभएको उनले बताए।

श्रेष्ठले बास्केटबलको सम्भावना भएकै कारण यो खेलप्रति आकर्षण बढिरहेको बताए । श्रेष्ठले भने, ‘खेलाडीलाई प्रोत्साहन गरेर खेलमा टिकिरहने वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।’ महिला बास्केटबल टिमका नेपाल कप्तान सदिना श्रेष्ठले बास्केटबलको सम्भावना रहेको बताउँदै भने, ‘सरकारले बास्केटबललाई प्राथमिकतामा राखेर अगाडि बढाउँदा मात्रै खेलाडीले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्छन् ।”

तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा आयोजित नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला बास्केटबलमा बागमती प्रदेशको टिमबाट सहभागी श्रेष्ठले दक्षिण एसियामा नै नेपालको महिला बास्केटबलको प्रगति हुँदै गएको बताए ।

मधेश प्रदेशका खेलाडी सवना खातुनले बास्केटबल खेलप्रति आकर्षण बढे पनि पूर्वाधार नहुँदा खेलाडी उत्पादन हुन नसकेको बताए । ‘मधेश प्रदेशमा महिला बास्केटबल नयाँ जस्तै हो, हामी पनि बल्ल बल्ल सिक्दैछौं, तर पूर्वाधार नहुँदा दुःख लाग्छ’, उनले भने, ‘बास्केटबलमा महिला खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिनुपर्छ ।’

बास्केटबल खेलाडी माला शाहले मधेश प्रदेशमै एकमात्र बास्केटबल कोर्ट रहेको भन्दै बास्केटबल कोर्ट बनाउनेतर्फ सरकारको ध्यान जान नसकेको गुनासो गरिन । ‘हामी बास्केटबल खेल्न सक्छौँ, तर कहाँ खेल्ने, खेलप्रति सरकारको त्यति ध्यान जान सकिरहेको छैन’, उनले भनिन्, ‘खेलबाटै नेपाल विश्वमाझ चिनिन सकेको छ, तर खेलाडीप्रति सरकारको लगानी छैन ।’

प्रशिक्षक सुरज तिवारीले भने, ‘पर्याप्त बास्केटबल कोर्ट नहुँदा महिला खेलाडी उत्पादन गर्न सकिएको छैन । सबै जिल्लामा कम्तिमा एक/एक कोर्ट निर्माण हुन सके महिला खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’

राष्ट्रियस्तरका खेलाडीको सहभागिताले उत्साह

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा आयोजित महिला बास्केटबलमा राष्ट्रियस्तरका खेलाडीको सहभागिताले उत्साह थपेको छ । नेपालको राष्ट्रिय महिला बास्केटबल टिमका खेलाडी त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबाट खेलेका थिए । नेपालका कप्तान सदिना श्रेष्ठ, राष्ट्रिय टिमका सदस्य अनुषा मल्ल बागमती प्रदेशबाट सहभागी थिइन् । त्यस्तै अन्य खेलाडी पनि बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबमा आवद्ध थिए ।

राष्ट्रियस्तरका खेलाडीको सहभागिताले नवौं राष्ट्रिय खेलकुदमा उत्साह थपेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए । ‘टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जालमा मात्रै देख्ने गरिएको राष्ट्रिय खेलाडीलाई जिल्लामै हेर्न पाउनु तनहुँवासीको खुशीको कुरा हो’, उनले भने, ‘राष्ट्रिय प्रतियोगिता तनहुँमा सभ्य र भव्य रूपमा सम्पन्न गर्न सकेका छौँ।’

पर्यटन प्रवर्द्धनमा टेवा

प्रतियोगितामा सहभागी हुन देशभरबाट आएका खेलाडी यहाँका धार्मिक तथा पर्यटकीयस्थल घुमेका छन् । उनीहरूले प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही, व्यासगुफा, मानुङकोट लगायतका पर्यटकीयस्थलको भ्रमण गरेका हुन् । यसले यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुगेको छ ।

खेलाडी तथा अफिसियल गरी एक सय ६० भन्दा बढी छ दिनसम्म दमौलीमा बास बस्दा यहाँका होटल व्यवसाय प्रवर्द्धन भएको होटल संघ तनहुँका अध्यक्ष विकास खनालले बताए । उनले भने, ‘देशभरका खेलाडी दमौली आएर यहाँका धार्मिकस्थल घुम्दा उक्त ठाउँको प्रचार-प्रसारमा सहयोग पुगेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker