धरमपानीदेखि बन्दीपुरसम्म साइकलिङ प्रतियोगिता, खरेल च्याम्पियन

तनहुँको धरमपानीदेखि बन्दीपुरसम्म शनिबार आयोजित साइकलिङ प्रतियोगितामा अच्युतकृष्ण खरेल च्याम्पियन बनेका छन् ।
करिब २४ किलोमिटर दूरी रहेको प्रतियोगितामा खरेलले १ घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । सौगात अछामीले १ घण्टा २० मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे भने संजय राई १ घण्टा २६ मिनेटमा दूरी पूरा गर्दै तेस्रो बने ।
विकास चाम्लिङले १ घण्टा ५४ मिनेटमा दूरी पार गर्दै सान्त्वना स्थान हासिल गरेका बन्दीपुर सामाजिक विकास समितिका सदस्य दीपेन्द्र भण्डारीले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा नेपाल साइकलिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । ग्रामीण पर्यटकीय गन्तव्यहरूमा साइकलिङ गतिविधि विस्तार गर्दै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक साइकल दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
प्रतियोगितामा विभिन्न जिल्लाका साइक्लिष्टहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछाने तथा अधिकृत सृजना अधिकारीलगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।










