तनहुँको आँधीमूलमा रहेका माछा जोगाउन पोखरीमा तारबार

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो ।

जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी युवराज मास्के बताउनुभयो ।

मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो ।

दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जाली सहितको रेलिङ निर्माण गरिएको आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । “पोखरीमा रहेका माछा पोखरीबाट बाहिर खस्ने सम्भावना रहेको हुँदा तारजाली राखेर सुरक्षित बनाएका छौ,” उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारबाट आँधीमूलमा धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि रु दुई लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट वनभोजस्थलमा तीन वटा पानीको धारा र बिजुली बत्ती व्यवस्थापनका लागि मिटर बक्स व्यवस्था गरिएको थापाले जानकारी दिनुभयो ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको हो ।

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वीराजमार्गको सत्रसयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker