२०४८ को प्रतिनिधिसभा सदस्य निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्म तनहुँ

नारायण खड्का/तनहुँ

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । छिटफुट घटना बाहेक देशैभर शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही जिल्लामा मतदान कार्य स्थगित भएको र स्थगित भएका मतदान कार्यलाई तत्काल सम्पन्न गर्ने तयारी भएको छ ।

अघिल्ला निर्वाचनको जस्तो २०७९ सालको निर्वाचनमा मतदाताको खासै उत्साह र सहभागिता देखिएन । देशैभरका मतदानको प्रवृत्ति र मतदाताको सहभागिता हेर्दा मतदाताहरू पुराना र ठूला भनिएका संस्थापन पक्षीय दलहरूसँग रुष्ट भएका हुन कि भन्ने संकेत पनि गरेको छ ।

राज्यसत्तामा तीसौं वर्षदेखिको हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता दलहरूसँग उनीहरूको अनेकन गुनासा छरफस्टै देखिएका छन् । मूलतः ती दलका नेतृत्वप्रति मतदाताले चर्को गुनासो पोख्ने पनि गरेका छन् ।

तनहुँको ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तहमा दुइ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

२ लाख ४८ हजार ४९५ जना मतदाता रहेको तनहुँमा आइतबार भएको निर्वाचनमा १ लाख ३५ हजार ४०१ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि करिब ५५ प्रतिशत मत खसेको छ । यो संख्या २०७४ सालको निर्वाचनको तुलनामा करिब १० प्रतिशत कमि देखिन्छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा ६७ हजार १३० मत खसेको छ भने निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँको निर्वाचनको इतिहासलाई फर्केर हेर्ने हो भने संविधान सभा सदस्यको निर्वाचन २०६४ मा सबै भन्दा कम मतदान भएको थियो । उक्त निर्वाचनमा तनहुँका तीन वटा निर्वाचन क्षेत्रबाट जम्मा ५२.४५ प्रतिशत मत खसेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०४८

जिल्ला निर्वाचन कार्यालय तनहुँको तथ्याङ्क अनुसार २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१.२४ प्रतिशत मत खसेको थियो । सो निर्वाचनमा तनहुँ १ मा ६१ हजार २९८ मतदाता रहेकोमा ३६ हजार ९०९ मत खसेकोमा १ हजार ९६१ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

तनहुँ २ मा ६२ हजार ३६० मतदाता रहेकामा ३६ हजार ७२४ मत खस्दा १ हजार ६८ मत बदर हुन पुगेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज जोशी निर्वाचित भएका थिए । तनहुँ ३ मा ६० हजार ४९७ मतदाता रहेकोमा ३९ हजार ८९ मत खसेकोमा १ हजार १४५ मत बदर हुन पुगेको थियो भने नेकपा एमालेका उम्मेदवार किरण गुरुङ निर्वाचित भएका थिए । २०४८ सालमा तनहुँमा कुल मतदाता संख्या १ लाख ८४ हजार १५५ रहेकोमा १ लाख १२ हजार ७२२ मत खसेको थियो । जस अनुसार ६१.२४ प्रतिशत मत खसेको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१

२०५१ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा २ लाख ७ हजार ६८३ मतदाता रहेकोमा १ लाख १७ हजार १३९ मत खसेको थियो । जस अनुसार उक्त निर्वाचनमा ५६.४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

२०५१ सालको निर्वाचनमा तनहुँ १ मा ६९ हजार ६०३ मतदाता रहेकोमा ३८ हजार ८९२ मत खस्दा ८१८ मत बदर हुन पुगेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज जोशी निर्वाचित भएका थिए ।

तनहुँ २ मा ७१ हजार ७७५ मतदाता रहेकोमा ३८ हजार ८३५ मत खस्दा १ हजार १५८ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । तनहुँ ३ मा ६६ हजार ३०५ मतदाता रहेकोमा ३९ हजार ४१२ मत खस्दा ९१७ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार अमरराज कैनी निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६

२०५६ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा २ लख ७ हजार ९६७ मतदाता रहेकोमा १ लाख ३१ हजार ८३६ मत खसेको थियो । जसमा ६३.४० प्रतिशत मत खसेको थियो । तनहुँ १ मा ६९ हजार ६७७ मतदाता रहेकोमा ४४ हजार ७४ मत खसेकोमा ६६९ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मदेवार गोविन्दराज जोशी निर्वाचित भएका थिए ।

तनहुँ २ मा ६९ हजार ८५९ मतदाता रहेकोमा ४३ हजार १९९ मत खस्दा ७०७ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । तनहुँ ३ मा ६८ हजार ४३१ मतदाता रहेकोमा ४४ हजार ५६३ मत खस्दा १ हजार ११७ मत बदर हुन पुगेको थियो भने नेकपा एमालेका उम्मेदवार टुकराज सिग्देल निर्वाचित भएका थिए ।

संविधानसभा सदस्य निर्वाचन २०६४

२०६४ सालमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा २ लाख ६७ हजार ६१८ मतदाता रहेकोमा १ लाख ४० हजार २९३ मत खसेको थियो । जसमा ५२.४५ प्रतिशत मत खसेको देखिन्छ । यो मत परिणाम अहिलेसम्मकै कम हो ।

तनहुँ १ मा ८७ हजार २८६ मतदाता रहेकोमा ४४ हजार ९२३ मत खस्दा २ हजार ४०७ मत बदर भएको थियो भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेशकुमार आले मगर निर्वाचित भएका थिए । तनहुँ २ मा ९३ हजार ३८० मतदाता रहेकोमा ४७ हजार ८०९ मत खस्दा २ हजार ८२३ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । तनहुँ ३ मा ८६ हजार ९५२ मतदाता रहेकोमा ४७ हजार ५६१ मत खस्दा २ हजार ७२० मत बदर भएको थियो भने नेकपा एमालेका उम्मेदवार किरण गुरुङ निर्वाचित भएका थिए ।

संविधानसभा सदस्य निर्वाचन २०७०

२०७० सालमा भएको दोश्रो संविधानसभा सदस्य निर्वाचनमा तनहुँमा १ लाख ६२ हजार ७६८ मतदाता रहेकोमा १ लाख १९ हजार ६६३ मत खसेको थियो । जसमा ७३.५१ प्रतिशत मत खसेको देखिन्छ । दोश्रो संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ मा ५१ हजार १६४ मतदाता रहेकोमा ३७ हजार २१ मत खस्दा १ हजार ८८६ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी निर्वाचित भएका थिए ।

तनहुँ २ मा ५७ हजार ९५९ मतदाता रहेकोमा ४२ हजार ३०२ मत खसेकोमा २ हजार ४९ मत बदर भएको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । तनहुँ ३ मा ५३ हजार ६४५ मतदाता रहेकोमा ४० हजार ३४० मत खसेकोमा १ हजार ६०८ मत बदर भएको थियो भने नेकपा एमालेका उम्मेदवार टुकराज सिग्देल निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४

मुलुक संघीय संरचनामा गएपछि मुलुकमा एकै पटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका गरी दुइ तहको निर्वाचन भएको थियो । जस अनुसार तनहुँमा रहेका ३ वटा निर्वाचन क्षेत्रलाई २ वटामा कायम गरिएको थियो । २०७४ सालको निर्वाचनमा तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा २ लाख ११ हजार ३९६ मतदाता रहेकोमा १ लाख ३६ हजार २६१ मत खसेको थियो । २०७४ सालमा कुल मतदाताको ६४.४६ प्रतिशत मत खसेको देखिन्छ ।

तनहुँ १ मा १ लाख ५ हजार ५७२ मतदाता रहेकोमा प्रतिनिधिसभा सदस्यका ६७ हजार ८०३ मत खस्दा ३ हजार ४७२ मत बदर भएको थियो भने नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसान निर्वाचित भएका थिए ।

तनहुँ १ प्रदेश १ मा ५७ हजार ६७४ मतदाता रहेकोमा ३७ हजार ५०० मत खसेकोमा १ हजार २०७ मत बदर भएको थियो भने नेकपा एमालेका उम्मेदवार राम बहादुर गुरुङ निर्वाचित भएका थिए । यस्तै, प्रदेश २ मा ४७ हजार ८९८ मतदाता रहेकोमा ३० हजार २६४ मत खसेकोमा १ हजार २४० मत बदर भएको थियो भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि बहादुर चुमान निर्वाचित भएका थिए ।

यस्तै, तनहुँ २ मा १ लाख ५ हजार ८२४ मतदाता रहेकोमा ६८ हजार ४५८ मत खस्दा ३ हजार १९३ मत बदर भएको थियो भने नेकपा एमालेका उम्मेदवार केदार सिग्देल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तनहुँ २ प्रदेश १ मा ५६ हजार १५३ मतदाता रहेकोमा ३७ हजार ७८ मत खसेकोमा १ हजार ३५७ मत बदर भएको थियो भने नेकपा माओवादी केन्द्रका उम्मेदवार आशा कोइराला निर्वाचित भएका थिए । यस्तै, प्रदेश २ मा ४९ हजार ६७१ मतदाता रहेकोमा ३१ हजार ३७० मत खस्दा ८१० मत बदर भएको थियो भने नेकपा एमालेका किरण गुरुङ निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९

मुलुक संघीय संरचनामा गएपछि दोश्रो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । मंसिर ४ गते भएको निर्वाचनमा अघिल्ला निर्वाचनमा जस्तो उत्साहजनक रुपमा मतदाताको सहभागिता देखिएन ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित राप्रपा लगायतका विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरी ५७ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धी पुराना दलले परानै नेताहरुलाई उम्मेदवार बनाएर खडा गर्दा पनि मतदातामा नैराश्यता छाएको हो कि भन्ने संका गर्ने ठाउँ बनेको छ ।

सातौ पटक चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना पनि पटकपटक निर्वाचन लडेपनि पराजित बन्दै आएका छन् । यता पार्टीले कारवाही गरेपछि स्वतन्त्र उम्मदेवारी दिएका गोविन्दाराज जोशी पनि २०४८ सालदेखिनै चुनावी मैदानमा छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिएका किरण गुरुङ पनि पुरानै उम्मेदवार हुन । यसरी दलहरुले नयाँ अनुहार तथा युवालाई अगाडि ल्याउनुको सट्टा पटकपटकको निर्वाचनमा एउटै उम्मेदवारलाई मैदानमा खडा गराउँदा पनि मतदाता असन्तुष्ट बनेको प्रष्टै देखिन्छ ।

उमेर ढल्कदासम्म चुनावी मैदान नछाड्ने नेता, चुनावका समयमा मात्रै गाउँपस्ने र जनतालाई झुट्टा आस्वासन बाढ्ने, आफु, आफ्ना भन्दा अन्यलाई अवसर दिन नसक्नु, जनताका आधारभूत आवश्यकता पनि पुरा गर्न नसकेको जस्ता आरोप खेप्ने गरेका नेताहरु अहिलेको निर्वाचनको मत परिणामले पक्कै पनि सचेत बन्नुपर्ने संकेत गरेको छ ।

नेपाली जनता स्वभावैले व्रि्रोही र प्रजातन्त्रप्रति लगाव राख्ने खालका भए पनि प्रजातन्त्रकै नाममा लामो समयदेखि पार्टी र राज्यसत्तामा राज गरिरहेका दलका नेतृत्व तहको रवैयाप्रति उनीहरूको आक्रोश यो निर्वाचनले प्रष्टाएको नकार्न सकिदैन । देशैभरका मतदाता विकल्पको खोजीमा छन् तर उपयुक्त रोजाइ फेला नपर्दा दोधारमा देखिएको अहिलेको प्रारम्भिक मत परिणामले पनि संकेत गरेको छ ।

ठूला दलप्रति आक्रोश छ तर नयाँ भनेर आएकाहरू प्रति भरोसा जनाउन पनि मतदाता सकेका छैनन् । २०४६ सालको बहुदलीय व्यवस्था पुनःबहालीपछि सत्ताको चाबी बोकेका नेपाली कांग्रेस र एमालेले दुरुपयोग गर्दा त्यसको प्रहार व्यवस्था मै पर्ने खतरा पनि बढेको छ ।

गणतन्त्र स्थापनापछि राज्य सञ्चालनको नेतृत्व लिने दलका नेतागण र राज्य संयन्त्रमा रहेकाहरू गैरजिम्मेवार र मनपरीमा मस्त हुँदा जनतामा निराशा छाएको छ । निरंकुश भनिएको पञ्चायत, सामन्ती भनिएका राजा र भ्रष्ट करार उक्त व्यवस्थाभन्दा बढी यिनले चलाएको व्यवस्था निरंकुश, अप्रजातान्त्रिक र भ्रष्ट देखियो ।

जसको प्रत्यक्ष असर देश र जनताको जीवनमा देखिन थालेको छ । मुलुक राष्ट्रिय, अन्तर्राष्ट्रिय मोर्चाहरूमा कमजोर प्रतीत हुँदा जनता बेरोजगारी र गरीबीको भट्टीमा पिल्सिन बाध्य भएका छन् । यस तर्फ अझै पनि दल तथा नेताहरुले गम्भिर भएर सोच्न सकेका छैनन् ।

आन्तरिक घरेलु मामिलामा वैदेशिक हस्तक्षेप बढ्दा बेरोजगार युवा खाडी, मलेशिया र कोरियामा रगत र पसिना बेच्न बाध्य भएका छन् । पद्धतिको विकास र संस्थाको सुदृढीकरण गरेर प्रजातन्त्र बलियो पार्नुभन्दा राज्यको ढुकुटी दोहन गरेर व्यक्ति मोटाउने क्रम बढ्दो छ । परिणाम, संघीय गणतन्त्रमा गएपछि गरिएको दोस्रो निर्वाचनसम्म आइपुग्दा नपुग्दै मतदातामा निराश देखियो ।

तीसौं वर्षदेखि पार्टी सत्ता कब्जा गरेर बसेका भ्रष्ट र उत्तरदायित्वविहीन नेतृत्वप्रतिको रिसको राँको मतदाताले कहिले स्थानीय निकायमा स्वतन्त्र जिताएर त कहिले संसदीय निर्वाचनमा घण्टी बजाएर र लौरो समाएर गर्न बाध्य भएका छन् ।

यो सबै प्रजातन्त्र र गणतन्त्रका लागि यति योगदान गरे भन्ने तर व्यवहारमा पटक्कै सुध्रन नचाहने दलका नेताहरूको प्रवृत्तिले ल्याएको हो। यस तर्फ अब दलका नेताहरु सचेत भएर सच्चिन सकेनन् भने भोलीका दिनमा संसदीय प्रणालीनै धरापमा नपर्ला भन्न सकिदैन ।

अघिल्लो निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा मतदाताको संख्या बढ्को छ । मतदाताको संख्या बढ्दा पनि करिब ६१ प्रतिशत मात्र मत खस्नु राज्य सञ्चालकहरू प्रतिको वितृष्णा कै रुपमा व्याख्या विश्लेषण गर्नुपर्ने अवस्था सृजना भएको छ । यसपटक अघिल्ला निर्वाचनहरूमा भन्दा कम मत खस्ने आँकलन त मतदातामा नदेखिएको उत्साहले संकेत गरेको थियो ।

२००७ सालमा प्रजातन्त्र आएयताको ७२ वर्षमा अहिले समेत जम्मा सात पटक संसदीय निर्वाचन भएका छन् । जसमा दुइ पटकको संविधान सभा निर्वाचन पनि जोडिन्छ । २०६४ र २०७० को संविधान सभा निर्वाचनबाहेक २०१५, २०४८, २०५१, २०५६ र २०७४ साल गरी जम्मा पाँच पटक जनताले आफ्ना जनप्रतिनिधि आफैले चुनेका हुन् ।

यसअघि भएका निर्वाचनमा कति प्रतिशत मत खस्यो ?

– पहिलो आम निर्वाचन २०१५ मा जम्मा ४२.१८ प्रतिशत,
– २०४६ मा भएको प्रजातन्त्र पुनर्बहालीपछि २०४८ मा गरिएको आमनिर्वाचनमा ६५.१५ प्रतिशत,
– २०५६ मा सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदाताको यो प्रतिशत ६५.७९,
– २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा कूल मतदाताको ६१.७० प्रतिशत,
– दोस्रो संविधान सभाको निर्वाचन २०७० मा ७८.७४ प्रतिशत,
– २०७४ मा गरिएको आमनिर्वाचनमा दोस्रो संविधान सभाको तुलनामा १० प्रतिशतले कमी ६८.६६७ प्रतिशत,

यस्तै, गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने अघिल्लो निर्वाचनभन्दा करिब तीन प्रतिशत कमी अर्थात् कूल मतदाताको ६५.०७४ प्रतिशत । यस पटक भने पाँच वर्षअघि सम्पन्न निर्वाचन भन्दा झण्डै ९ प्रतिशत कम मतदाताले मत दिनु वर्तमान राज्य सञ्चालक र पद्धतीले मतदातालाई आकर्षण गर्न नसक्नुलाई नै मूल कारण मान्न सकिन्छ ।

जसमा दलका नेतृत्वको रवैया, तीसौं वर्षसम्म वर्तमानमा मूलधारका दलहरूले लिएको नीति र त्यसले दिन नसकेको ‘डेलिभरी’ (अर्थात् सफलता), एकै व्यक्ति र नेतृत्व तीसौं वर्षसम्म झुण्डेर रहने प्रवृत्ति, नयाँ विचार र सोच भएकालाई निषेधीकरण, लाखौं सूचीकृत मतदाता बेरोजगारीका कारण विवशतावश विदेश पलायन हुनु जस्ता कारण जोडिएका पक्कै छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker