पर्यटकलाई आकर्षित गर्दै आँवुखैरेनीको “ऐनापहरा”
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराको प्राकृतिक सुन्दरता र त्यहाँ निर्माण गरिएका पूर्वाधारले पर्यटकलाई आकर्षित गर्न थालेको छ । हरियाली जंगल, पहाडको खोजबाट कलकल बगेको पानीले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गर्दछ ।
गाउँपालिकाले ऐनापहरालाई व्यवस्थित बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै गएको छ । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने योजनाका साथ गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ ।
गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चा, परीको आकृति खोपिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने तथा अन्य पर्यटन लक्षित पूर्वाधार निर्माण थालेको छ।
पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय रविन्द्र अधिकारी बताउँछन् । राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको उनले बताए ।
सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढयो ।’
ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाइएको हो । पृथ्वी राजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको हो । यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकषिर्त बनाउन यो कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
‘ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ’, अध्यक्ष चुमानले भने, ‘सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’ पृथ्वी राजमार्गबाट एकछिनमै पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौं, चितवनबाट पोखरातर्फ आउने र पोखराबाट जाने सर्वसाधारण सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।
गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन र्सवसाधारणको भीड लाग्छ ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु दश करोड बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।