साथी भेट्न जाँदै गर्दा चितुवाले आक्रमणगर्दा बालिकाको ज्यान गयो
भञ्ज्याङ न्यूज

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । घरबाट करिव तीन सय मिटरको दुरीमा रहेको साथीको घर जाँदै गर्दा चितुवाको आक्रमणमा परि ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दिपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
घरबाट साथीको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको उनले बताए । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको र चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता श्रेष्ठले बताए ।
घरदेखि साथीको घरको दूरी करीब तीन सय मिटर छ, बाटोमा सालघारी पर्छ, साथीको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेको भेटिएको घट्नास्थल पुगेका गाउँपालिकाकाउ निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले बताए । बालिकाको घरपनी जंगलको बिचमा रहेको छ । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।
बालिकाका बुबा चन्द्र बहादुर घर्ती सुन्तला बेच्न डुम्रे बजार झरेका र आमा चन्द्रमाया घरमै काम गरि रहेको र बालिका साथीको घरमा जानेक्रम्मा चितुवाको आक्रमण परेको निवर्तमान अध्यक्ष थापाले बताए ।
पछिल्लो समय बन्दिपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दिपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
चितुवाको आक्रमणबाट बन्दिपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दिपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दिपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।
केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।










