व्यास नगरपालिकाका ९३ प्रतिशत योजना सम्झौता सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न गरेको छ ।
जेठ मसान्तसम्म चालु आर्थिक बर्षमा १ हजार ३१५ कुल योजना सञ्चालन गर्ने नीति अनुसार १ हजार २२८ वटा योजनाको सम्झौता भएको, ८१९ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४०९ वटा योजना अन्तिम चरणमा पुगेको, ८४ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित गर्न बाँकी रहेको नगरपालिकाको पूर्वाधार विकास शाखाले जनाएको छ ।
नगरपालिकाले उपभोक्ता समिति र ठेक्का मार्फत संचालन गरिएको मा ९३ प्रतिशत योजनाको सम्झौता भएकोमा ६२ प्रतिशत योजना सम्पन्न भएका छन् भने ३१ प्रतिशत योजना निर्माणधीन अवस्थामा रहेको र ७ प्रतिशत योजनाको सम्झौता नै नभएको योजना अधिकृत भेषराज तिवारीले बताए ।
उनका अनुसार ठेक्का मार्फत ६० योजना मध्ये ५६ योजना सम्झौता भएका थिए । जसमा २६ योजना सम्पन्न भई भुक्तानी लिईसकेको, ३० योजना निर्माणधीन अवस्थामा र १ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित हुन बाँकी रहेको छ ।
उपभोक्ता समिति मार्फत संचालित १ हजार २५५ योजनामा ७९३ योजना सम्पन्न भई भुक्तानी लिईएको छ भने ३७९ योजना निर्माणधीन अवस्थामा रहेका छन् । त्यस्तै ८३ योजना सझौता हुन बाँकी रहेको छ ।










