म्याग्दे गाउँपालिकाको विकट क्षेत्रमा सेवा केन्द्र
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका- ७ को बिकट क्षेत्रमा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालिएको छ । वडाको पूर्वी भेगमा बसोबास गर्ने वडावासीलाई वडासम्म सेवा लिन कठिनाई भोग्नुपरेपछि सेवा केन्द्रमार्फत सेवा प्रदान गरिएको हो । वडासम्म आउनको लागि लामो दूरी हिँड्नुपर्ने र सडकमार्गबाट अत्यन्तै घुमाउरो पर्ने भएकोले सहज रुपमा सेवा दिन सेवा केन्द्र स्थापना गरेको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए ।
उनका अनुसार सेवा दिइएको पहिलो दिन मंगलबार मात्रै ६८ जना स्थानीयले सेवा लिएका छन् । सहज रुपमा सेवा पाउँदा उनीहरुमा खुसी भएका छन् । सेवाग्राहीको चापलाई हेरेर हाललाई महिनामा दुइ पटकसम्म सेवा केन्द्रबाट सेवा दिने लक्ष्य राखिएको उनले बताए ।
सेवा केन्द्रबाट डाँडागाँउ टोल, हर्षपुर टोल, पँयरटोल, बेलबोट टोल, एक्लेवर टोलका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने वडाले जनाएको छ । वडाबाट हुने सम्पूर्ण सेवा केन्द्रबाट निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
९१४ महिलाको पाठेघरको परीक्षण
यस्तै, म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट गाउँपालिकाले प्रदान गर्ने सबै सेवा प्रदान गरेको छ । शिबिरबाट ९१४ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिएको छ । महिलामा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा पालिकाभरिका पाँच वटा वडाभित्रका महिलाले सेवा लिएका हुन् ।
घुम्ती शिविरमा बहिरङ्ग सेवा अन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको थियो । रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना संकलन, औलोरोगको परीक्षण गरिएको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए ।
शिविरमा जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेदका दर्ता लगायतका सेवा प्रदान गरिएको थियो । व्यवसाय दर्ता, राजस्व संकलन, मालपोत तथा भूमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।
बिउबिजन वितरण एवं कृषि अनुदान माग संकलन, पशुसेवा शाखा अन्तर्गत पशुको गोबर परीक्षण र नतिजाको आधारमा पशु पक्षीलाई औषधि वितरण, बाख्रापाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना सम्झौता लगायतका सेवा प्रदान गरिएको थियो ।
परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलव्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।










