बन्दीपुरको रामकोटका ज्येष्ठ नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा
भञ्ज्याङन्यूज

बन्दीपुर गाउँपालिकाको वडा नं. ३ रामकोटमा ज्येष्ठ नागरिकहरुलाई घर गाउँमै स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
गाउँपालिकाको वार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत रामकोटबाट पहिलोपटक यो सेवा सुरु गरिएको हो । पालिकाको प्रत्येक वडावडामा स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अनुसार अगाडि बढेको गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापाले बताए।
उनले भने, ‘हरेक महिनाको एक पटक गाउँ गाउँमा मेडिकल अफिसर सहित स्वास्थ्य टोली पुगी स्वास्थ्य सेवाबाट बन्चित ज्येष्ठ नागरिक लगायतको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ ।’
बन्दीपुर अस्पतालका मेडिकल अफिसर डा. केवीनच पौडेल सहित स्वास्थ्यकर्मीको टोली रामकोट पुगेका थिए । ज्येष्ठ नागरिक लगायत करिव ७८ जना स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।
स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य परामर्श, आँखा जाँच, डेंगी नियन्त्रण लगायतका स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको थियो ।
गाउँपालिका वडा नं. ३ का अध्यक्ष परमेश्वर भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमाँया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।