विश्व स्तनपान सप्ताह : प्रदेश अस्पताल दमौलीमा जानकारीमूलक प्रदर्शनी

दमौली : विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा प्रदेश अस्पताल दमौली, तनहुँले स्तनपानको महत्व, आवश्यकता तथा आमा र शिशुलाई यसबाट हुने स्वास्थ्य लाभबारे जानकारी गराउने उद्देश्यले जानकारीमूलक प्रदर्शनी आयोजना गरेको छ ।
अस्पतालले विश्व स्तनपान सप्ताह (अगस्ट १–७/साउन १६–२२ गते)को अवसरमा ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदर्शनीमार्फत नवजात शिशुलाई जन्मिएको पहिलो एक घण्टाभित्र स्तनपान गराउनुपर्ने, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने तथा त्यसपछि उमेरअनुसारको थप आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी प्रदान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार स्तनपानले शिशुलाई आवश्यक पोषण, रोग प्रतिरोधात्मक क्षमता तथा स्वस्थ शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ । यसैगरी, आमाको स्वास्थ्य संरक्षण, प्रसूति पश्चात् हुने जटिलता न्यूनीकरण तथा आमा–शिशुबीचको भावनात्मक सम्बन्ध सुदृढ बनाउन पनि स्तनपान प्रभावकारी हुने चिकित्सकहरूले बताएका छन् ।
अस्पतालले प्रभावकारी स्तनपानको प्रवर्द्धनका लागि परिवार, स्वास्थ्यकर्मी, समुदाय तथा सरोकारवाला सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै नवजात शिशुको स्वस्थ जीवन, दिगो विकास र समृद्ध भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
विश्व स्तनपान सप्ताह हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ । यस अवसरमा प्रदेश अस्पताल दमौलीले आयोजना गरेको प्रदर्शनीमा सेवाग्राही, सुत्केरी महिला, गर्भवती तथा सर्वसाधारणलाई स्तनपानसम्बन्धी सही जानकारी प्रदान गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखाहरुले आ–आफ्ना मातहत रहेको स्वास्थ्य संस्थाहरु मार्फत सेवा क्षेत्रमा विविध सचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह–२०२६ मनाइरहेका छन् ।










