व्यास नगरपालिका : कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यसंगै खेलकुद क्षेत्रको विकास प्राथमिकतामा
नारायण खड्का/तनहुँ

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि वेद व्यास र पराशर ऋषिको तपोभूमी (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका तनहुँको पहिलो र पुरानो नगरपालिका हो ।
देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको थियो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको निर्णयानुसार पोखरीभञ्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो । नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार श्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर, घाँसीकुवा, रिस्ती र सतिस्वाँराका केही वडालाई पनि यस नगरपालिकामा गाभिएको छ ।

पृथ्वी राजमार्गमा अवस्थित यो नगरपालिका गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको सदरमुकाम (दमौली) पनि हो । यस नगरपालिकालाई पूर्वमा भानु नगरपालिका र बन्दिपुर गाउँपालिका, पश्चिममा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लमजुङ र कास्की जिल्ला तथा दक्षिण तर्फ ऋषिङ र देवघाट गाउँपालिका सिमाना रहेको छ । नगरबासिहरु आंसिक रुपमा जागिर, व्यापार व्यवसाय र वैदेशिक रोजगारीमा संलग्नता रहेपनि मुख्य प्राथमिकता भनेको कृषि नै रहेको छ । सागे, बुल्दी, बोर्धन र छाब्दी खोलाका काखमा रहेका फाँटहरु उर्भर र सदावहार छन् भने कुमालटारी, बैरेनी, भादगाउँ जस्ता साना ठूला टारहरु सिंचाईको पर्खाइमा छन् ।
४ वेद १८ पुराणका रचायिता वेदव्यासको जन्मस्थल, पराशर ऋषिको तपोभूमि, मादी र सेती नदीको संगम स्थल यसै नगरपालिकामा पर्दछ । दमौलीबाट करीब ७ कि.मी. पूर्वमा अवस्थित छाब्दी बराही मन्दिरमा वर्षोनी हजारौं भक्तजन तथा धार्मिक पर्यटक पुग्ने गर्दछन् । वृहत्तर गुरुयोजना निर्माण गरी नगरपालिकामा धार्मिक, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने सक्ने सम्भावना रहेको छ ।

बैकुण्ठ न्यौपाने : प्रमुख
नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको छ । कृषि क्षेत्रको विकास तथा व्यवसायिकता तर्फ जोड्ने उद्देश्यका साथ कृषक र कृषि पेशालाई आधुनिक बनाउने, बीऊविजन, प्राविधिक सहयोग उपलब्ध गारउने तर्फ जोड दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । पूर्वाधारको विकाससंगै कृषि, पर्यटन लगायतका क्षेत्रबाट समृद्ध नगर बनाउने अभियानमा नगरपालिका लागि परेको उनले बताए ।
राज्य पुनःसंरचनापछि सरकारका संघ, प्रदेश र स्थानीय तीन अंगहरु छन् । जनताको घरदैलोको सरकार, नगरबासी, वडाबासीहरुको साबैभन्दा नजिकको साथी र आलोचना खेप्ने स्थानीय तह भएकाले जनताहरुले सानो सानो कुरामा नगरपालिकासंग भर पर्नुपर्ने स्थिति रहेको नगरप्रमुख न्यौपाने बताउँछन् ।
संघ र प्रदेश सरकारसंग धेरै अपेक्षा गर्नुपर्ने अवस्था रहेको र स्थानीय स्तरको राजस्वमा निश्चित बजेट मात्र आउने हुँदा त्यो भन्दा अतिरिक्त योजनाहरुमा रकम ल्याउन सकेमा मात्रै जनताका माग र आवश्यकतालाई सम्बोधन गर्न सक्ने अवस्था रहेको छ । ‘नगरापलिका २०४८ सालमा स्थापना भएतापनि यस नगरपालिकामा राज्य पुनःसंरचनामा थपिएर आएका ७ वटा गाविसहरु जति छन तिनिहरु अधिकांश गाउँ, पहाडी भेग र दुरदराजका क्षेत्रमा खानेपानी, यातायातका साधन पुर्याउनुपर्ने अवस्था रहेकाले हामी त्यतै केन्द्रित भएका छौ’, उनले भने, ‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ विविध भौगोलिक, जातीय, आम्दानीको हिसाबमा विकासको मुल धारमा पिछाडीएका वर्गलाई अगाडी ल्याई समृद्धीको यात्रामा नगरबासीलाई ल्याउने गरी काम अगाडि बढाएका छौं ।’

‘तल्लो तहमा रहेका नगरपालिका, जनप्रतिनिधिहरुको राजनीतिक आस्था, संघ र प्रदेशको राजनीतिक आस्था नमिलेको कारण कहिलेकाही आग्रह पूर्वआग्रहहरु अगाडी आई समस्या उत्पन्न हुने गरेको छ’, नगरप्रमुख न्यौपानले भने, ‘संघले कतिपय कानुन बनाइदिइसकेपछि प्रदेशले बनाउने र प्रदेश र संघले बनाइदिएपछि स्थानीय तहले कानुन निर्माण गर्नुपर्ने कुराहरु छन । तर हामीले नम्रतापूर्वक नागरिकहरुको सेवामा लाग्न नपाएको अवस्था छ ।’
नगरपालिकाको आज भन्दा ६ वर्ष अगाडी करिब ४ करोड ३८ लाख वार्षिक आन्तरिक आम्दानी थियो । गत वर्ष २० करोडको अपेक्षामा १९ करोड आम्दानी भयो, आन्तरिक आम्दानीमा सम्पत्ति कर वा विशेष गरी घर भाडा र प्राकृतिक श्रोत साधन ढुंगा, गिटी, बालुवा विक्रि वितरणबाट प्राप्त भएको रकम हो । नगरपालिकाले अहिले विज्ञापन करलाई व्यवस्थित गरी करको मुल्य नबढाइ दायरा बढाउनेतर्फ लागिरहेको नगरप्रमुख न्यौपानले बताए । उनले भने, ‘अहिले आर्थिकमन्दिको देखिएको छ । कोभिड-१९ को असर जस्ता कारणहरुले अपेक्षित रुपमा आन्तरिक आम्दानीका श्रोतको बढावा दिन सकिरहेको स्थिति छैन । तर पनि नागरिकलाई असर नहुने गरी दायरामा रहेर श्रोत साधनलाई बढाउनेतर्फ लागि रहेका छौ ।’

‘हामीले यहाँबाट निकासी हुने जतिपनि प्राकृतिक श्रोत साधनहरुको वातारवरण शुल्क, त्यसमा अपेक्षित भन्दा बढि नै रकम टेण्डरमा गएको छ । दमौली बजार तल रहेको सेतीमादी मिसिएपछिको प्राकृतिक श्रोत गत वर्ष भन्दा करिब ३० लाख रुपैयाँ आएको छ’, उनले भने, ‘मादी नदीबाट गत वर्षकरिब ७ करोड आम्दानी प्राप्त भएकोमा यस वर्ष २ पटकसम्म टेण्डर गर्दा टेण्डरमा कोही पनि सहभागि हुन आएनन् । एउटा टेण्डर परेकोमा त्यसलाई कलेस्तिको तल र माथि २ वटा भाग बनाइयो तर एउटा पाटी टेण्डर सम्पन्न भई स्वीकृत गरी सम्झौता गर्न आएनन् । टेण्डर नलाग्दा अहिले नगरपालिकाको आन्तरिक आम्दनी कम्जोर बनेको छ ।’
अहिले बैंकहरुले घर निर्माण गर्ने कार्यमा जतिपनि धितो राखेर घरआवास ऋण दिने गर्दथे त्यो अहिले बन्दै भएको अवस्था छ । ढुंगा, गिटी, बालुवामा सरकारले नै खर्च गर्न नसक्ने, बैंकहरुले ऋण दिन नसक्ने र जग्गाको कित्ताकाट रोकिएर बिक्री वितरणका कामहरु पनि बन्द भएको हुँदा आर्थिक गतिविधि शुन्य भएको छ । घर निर्माणका कामहरु हुन नसक्दा पनि ढुंगा, गिट्टी बालुवाको ठेक्का लाग्न नसकेको नगरप्रमुख न्यौपाने बताउँछन् । उनले भने, ‘संसार भर आएको आर्थिकमन्दि, हाम्रो आर्थिक अवस्थाको चुनौतीले गर्दा यो अवस्था सिर्जना भएको हो ।’

यस्तै, शिक्षाको उपयुक्त अवसरको खोजिमा बालबच्चा पढाउन भनि सहरक्षेत्रमा झर्ने अवस्था छ । अहिले गाउँमै पनि विद्यालयहरु छन्, तर रोजगारीको कारणले गर्दा मानिसहरु सरहतर्फ झर्ने क्रम र गाउँमा बुढापाका, ज्येष्ठ नागरिकहरु मात्र भएको अवस्था छ । गाउँमा बाटो, खानेपानी सबैको व्यवस्था त गरियो तर त्यही बाटोबाट मानिसहरु आफ्नो सामान लिइ सहरतर्फ झर्ने स्थिति बनेको नगरप्रमुख न्यौपाने बताउँछन् ।
‘धेरै जसो बाहृय बसाइसराइ त छदैछ तर आन्तरिक बसाइसराइमा धेरै रोजगारी र गुणस्तर शिक्षाको खोजिमा आइरहेको पाइन्छ’, उनले भने, ‘हामीले गाउँमा रोजगारी सिर्जना गर्न उद्योगधन्दा कलकारखाना खोल्ने क्षमता नगरपालिकाको छैन, सीप विकास गर्ने कार्यहरुमा लागि राखेका छौ तर, त्यसबाट बसाइसराइ रोकिने अवस्था देखिदैन ।’
‘वडाका बजेटबाट गाउँगाउँमा विभिन्न उद्यमशिल तालिमहरु दिएका छौ । विकास गाउँतिर विस्तार गर्नुपर्ने र बस्ति सहरमा बढि बसाउनुपर्ने अवस्था छ’, नगरप्रमुख न्यौपानेले भने, ‘समृद्धीका ठाउँहरुमा रोजगारी, शैक्षिक अवसर भएको ठाउँमा मानिसको घना आवादी बस्ति हुनेछ । मानुङ, कुलुङकोट, तनहुँसुर, पुलिमराङ यस्ता पर्यटकीय गन्तव्यका स्थलहरुमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी आम्दानी वृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडी बढिरहेको छ ।’

जिल्लाको करिब ३ लाख ३० हजारको जनसंख्यामा करिब १ चौथाइ करिब ७९ हजार जनसंख्या व्यास नगरपालिकामा बसोबास गर्ने अवस्था सिर्जना भएको छ । ‘हाम्रो श्रोत साधन जतिपनि छन, त्यसको इमान्दारपूर्वक सदुपयोग गर्नुपर्ने हुन्छ । नगरपालिकाका जनप्रतिनिधी लगायत प्रशासनीक निकाय इमान्दारपूर्वक काम गर्नुपर्छ’, नगरप्रमुख न्यौपानेले भने, ‘प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाट छनौट गर्ने पद्धति अहिले पनि छ । बजेट कार्यान्वयनदेखि नीतिगत भएका कार्यक्रम गर्ने तह प्रशासनीक तह मै हुने गर्छ ।’
मुलत हरेक स्थानीय तहले आफ्ना दीर्घकालिन सोचसहितको योजनाहरु तर्जुमा गर्ने, त्यसपछि आवधिक योजनाको रुपमा अघिल्लो वर्षर पछिल्लो वर्ष मध्यावधि खर्च संरचना व्यवस्थित गर्दै शैद्धान्तिक रुपले अगाडी बढ्नुपर्ने देखिन्छ । नगरप्रमुख न्यौपानले भने, ‘व्यास नगरपालिकाले कृषि, शिक्षा र पर्यटन यी तीन वटा क्षेत्रलाई प्राथमिकता दिई शिक्षाको अभिवृद्धि गर्दा मानिसमा चेतना जाग्ने हिसाबमा सामुदायिक विद्यालयहरुलाई व्यवस्थित गर्ने ढंगबाट अगाडी बढिरहेका छौ । त्यस्तै अन्य पालिकाहरुले पनि आ-आफ्ना प्राथमिकता तोकेर त्यसको आधारमा इमान्दारिपूर्वक अगाडी बढ्दा जिल्लालाई विकसित र समृद्ध तर्फ उन्मुख गराउन मद्दत पुग्ने छ ।
इन्दिरा दरै : उपप्रमुख
पहिले भएका विकासका अधुरा योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उपप्रमुख इन्दिरा दरै बताउँछिन् । ‘शिक्षाबाट बञ्चित रहेका गरिब र असाय बालबालिकालाई विद्यालयमा पुर्याउने गरी नगरपालिकाले नीति बनाएको छ’, उनले भनिन्, ‘नगरपालिकाले समता विद्यालय सञ्चालन गर्दै आएको छ । यसमा गरिब, असाय, निमुखा वर्गका बालबालिकाका लागि विभिन्न आयआर्जनमुलक कार्यक्रमहरु, सीपमुलक तालिमका कार्यक्रहरु गर्दै आएका छौ ।’

यस्तै, नगरपालिकाको न्यायीक समितिमा सधियार, घर झगडाका मुद्दाहरु आउने गरेका छन् । मुद्दाका प्रकृति अनुसार दुबै पक्षबीच छलफल र समझदारी गरी जितजितको वातावरण बनाई न्याया निरुपण गर्दै आएको उपप्रमुख दरैले बताइन। महिला सशक्तिकरण, आर्थिक पहुँच अभिवृद्धि गर्दै नेतृत्व तहमा पुर्याउनका लागि विभिन्न क्षमता विकास कार्यक्रम, नेतृत्व विकास, उद्घोष तालिमहरु वडावडा तहमा नै उपलब्ध गराउँदै आइएको उनले बताइन् ।
गंगा लाल सुवेदी : प्रमुख प्रशासकीय अधिकृत
‘विविधतायुक्त समुन्नत गाउँ, शहर : समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ नगरपालिकाले नीति, कार्यक्रम तय गरी अगाडि बढेको छ । नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माण तथा कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीक बनाउनेमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । कृषि क्षेत्रको विकास तथा व्यवसायिकता तर्फजोड्ने उद्देश्यका साथ कृषकलाई अनुदानमा हाते ट्रयाक्टर, आधुनिक हलो, उन्नतजातका बीऊविजन, किटनासक औषधी, प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको । नगरपालिकाले सीप विकास कार्यक्रम अन्तर्गत विभिन्न सिपमुलक तालिमहरु समेत सञ्चालन गर्दै स्वरोजगार बनाउने लक्ष्य लिइएको उनले बताए ।

सडक पूर्वाधारको विकाससंगै स्वास्थ्य, शिक्षा क्षेत्रलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विशेषज्ञ चिकित्सकहरुको सहभागितामा वृद्धवृद्धा तथा ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको उनले बताए । शिक्षा बिना केही कुरा पनि विकास हुन सक्दैन, शिक्षालाई गुणस्तरीय विकास कसरी गर्न सकिन्छ ? आजको विद्यार्थी भोलीका राष्ट्र निर्माता, कर्णधार हुन् त्यसैले सर्वशुलभ रुपमा गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउनु पर्छ भनेर नगरपालिकाले शिक्षा क्षेत्र लक्षित कार्यक्रमलाई पनि प्राथमिकता साथ अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।











