दमौलीमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिने भएको छ । पतञ्जली योग समिति दमौलीले वैशाख ३ देखि ७ गतेसम्म दमौलीको खुल्लाचौरमा योग विज्ञान शिविर सञ्चालन गर्न लागिएको शिविरका मुल संयोजक राजकुमार श्रेष्ठले बताए ।
शिविरको विषयमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रभारी शिवराज काफ्लेले जुनसुकै उमेर र क्षमतका महिला तथा पुरुषहरु निरोगी भएमा सधैं स्वास्थ्य रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योग अति आवश्यक रहेकाले शिविर आयोजना गरिएको बताए ।
योगले तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास गराउने, जीवन पद्धतीमा परिवर्तन ल्याउने बताउँदै प्रभारी काफ्लेले आत्माविश्वास बढाउन, प्रतिभा प्रस्फुटन गराउन, शरिरमा रक्तसञ्चार बढाउन, शरिरका सबै अंगमा अक्सिजनको मात्र पुर्याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने उनले बताए ।
बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने वृहत योग विज्ञान शिविरमा करिब २ हजार ५०० जना सहभागि हुने अनुमान आयोजकले गरेको छ । शिविर सञ्चालनका लागि व्यास नगरपालिकाले आर्थिक सहयोग व्यवस्थापन गरेको बताइएको छ ।










