पढ्नलाई उमेरले छेकेन : दुइ छोरी र एक छोरासंगै विद्यालय
कृष्ण न्यौपाने/दमौली
“पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ”, तनहुँको व्यास नगरपालिका-१४ का ४२ वर्षीय विश्वबुढा परियारले भन्नुभयो, “जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ ।”
व्यास-२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहनुभएका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिनुभएको छ ।
व्यास-१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाड्नुभएका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइइ उत्तीर्ण गर्नुभएको थियो । एसइइमा एक दशमलव छ जिपिए ल्याउनुभएका उहाँले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरुआत गर्नुभएको छ ।
अझ रोचक त के भने परियारका दुइ छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा १३ वर्षीय शिवशङ्कर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन् । छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छन् ।
छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउनुहुन्छ । “हामी त सबै एउटै विद्यालयमा पढ्छौँ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ”, परियारले भन्नुभयो, “सुरु-सुरुमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथी जस्तै भइसके ।”
परियारको कक्षामा ४२ विद्यार्थी छन् । सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् । “उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्”, परियारले भन्नुभयो । सुरुमा विद्यालय जाँदा विद्यार्थीहरू खिस्स हाँस्ने गरेको उहाँले सुनाउनुभयो ।
यसरी आयो पढ्ने सोच
नेपाल कराते संघ गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन जानुभएको थियो । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनि पनि उहाँ छनोट हुनसक्नु भएको थिएन । त्यही बेला उहाँलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।
“खेलकुदबाट स्वयंसेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो”, परियारले विगत सम्भFmदै भन्नुभयो, “पढाइ जस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो ।” राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुइ वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताउनुभयो ।
केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्भिmनुहुन्छ । “उहाँले सधैं मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उहाँले मलाई सहयोग गर्नुभयो”, परियारले भन्नुभयो, “पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरूलाई पनि पुनः अध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित संघ तनहुँको सचिव, सांस्कृतिक संघ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराते संघ गोजो एकाइको प्रमुख प्रशिक्षक रहनुभएका परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताउनुभयो ।
“मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ”, परियारले भन्नुभयो, “पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ ।”
परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताउनुभयो। “उहाँको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ”, खनालले भन्नुभयो, “हामीहरूले पनि उहाँलाई हौसला दिइरहेकाछौँ ।” रासस










