तनहुँमा ४६ वन्यजन्तुको उद्धार, रु. ७ लाख बढी राहत वितरण

दमौली : वन्यजन्तु बस्तीमा प्रवेश गर्ने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका बेला डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा ४६ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते हुनुका साथै पशुधन र कृषिबालीमा क्षति पुगेपछि कार्यालयले प्रभावितलाई सात लाख ३९ हजार ३७० रुपैयाँ राहतसमेत वितरण गरेको छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार गत आर्थिक वर्षमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर र स्याललगायत वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएको हो । उद्धार गरिएका अधिकांश वन्यजन्तु जीवित अवस्थामा फेला परेका थिए भने केही मृत तथा घाइते अवस्थामा भेटिएका थिए ।
कार्यालयको विवरणअनुसार सो अवधिमा दुईवटा चितुवा मृत अवस्थामा फेला परेका थिए। एउटा चितुवाको जीवितै उद्धार गरिएको थियो भने अर्को एउटा घाइते अवस्थामा भेटिएको थियो । त्यस्तै, एउटा चरीबाघ र पाँचवटा मृग जीवितै उद्धार गरिएका थिए भने एउटा मृग मृत अवस्थामा फेला परेको थियो ।
यसैगरी चारवटा अजिङ्गर, २७ वटा सर्प, एउटा गिद्ध र तीनवटा भार्सेको जीवितै उद्धार गरिएको कार्यालय प्रमुख रानाभाटले जानकारी दिए । एउटा स्याल भने मृत अवस्थामा फेला परेको थियो । मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा अन्य कारणले जोखिममा परेका वन्यजन्तुको उद्धार गरी सुरक्षित व्यवस्थापन गर्ने गरिएको उनले बताए । जीवित उद्धार गरिएका वन्यजन्तुलाई अवस्था र उपयुक्तता अनुसार प्राकृतिक वासस्थानमा छाड्ने तथा मृत वन्यजन्तुलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने गरिएको छ ।
पशुधनमा क्षति, किसानलाई पाँच लाख राहत
वन्यजन्तुको आक्रमणले मानिसको सुरक्षासँगै ग्रामीण क्षेत्रका किसानको जीविकोपार्जनमा समेत असर पार्दै आएको छ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा वन्यजन्तुबाट भएको क्षतिबापत कुल सात लाख ३९ हजार ३७० रुपैयाँ राहत वितरण गरेको जनाएको छ ।
कार्यालयका अनुसार बाँदर र भालुको आक्रमणबाट घाइते भएका व्यक्तिलाई राहतस्वरूप दुई लाख १८ हजार १०० रुपैयाँ उपलब्ध गराइएको छ । वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई पाँच लाख सात हजार रुपैयाँ वितरण गरिएको छ ।
पशुधनतर्फ ५१ वटा बाख्रा, एउटा गोरु र एउटा पाँडोमा क्षति पुगेको कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै, बाँदरले मकैबालीमा क्षति पुर्याएपछि प्रभावित किसानलाई १४ हजार २५० रुपैयाँ राहत उपलब्ध गराइएको छ ।
संरक्षणसँगै मानव सुरक्षा चुनौती
वन्यजन्तुको उद्धार र राहत वितरणका तथ्याङ्कले तनहुँमा वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षा र जीविकोपार्जनको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने देखाएको छ । वन्यजन्तु बस्तीमा पस्दा मानिसमाथि आक्रमणको जोखिम बढ्ने, पशुधन गुमाउनुपर्ने र कृषिबाली नष्ट हुँदा किसानले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था छ ।
वन्यजन्तुको प्राकृतिक वासस्थान संरक्षण, बस्तीमा प्रवेश गर्ने घटनाको प्रभावकारी व्यवस्थापन र प्रभावितलाई समयमै राहत उपलब्ध गराउनु मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका महत्त्वपूर्ण पक्ष हुन् । वन्यजन्तुको संरक्षण गर्दै स्थानीय बासिन्दाको सुरक्षा र आर्थिक क्षतिलाई कम गर्न सम्बन्धित निकाय तथा समुदायबीच समन्वय आवश्यक देखिएको छ । डिभिजन वन कार्यालय तनहुँले वन्यजन्तुको उद्धार तथा व्यवस्थापनसँगै क्षतिबाट प्रभावितलाई राहत उपलब्ध गराउँदै आएको जनाएको छ ।










