तनहुँमा सुन्तला उत्पादन वृद्धि
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । “गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।
तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ”, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भन्नुभयो, “कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।”
उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उहाँ बताउनुहुन्छ । “यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ”, तिवारीले भन्नुभयो । गत वर्ष जिल्लामा एक हजार ६६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेटि्रक टन सुन्तला उत्पादन भएको थियो ।
यस वर्षफल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेटि्रक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल रु २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ लगायतका स्थानमा निर्यात गरिन्छ । सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।
व्यास नगरपालिका-१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताउनुभयो। सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उहाँ बताउनुहुन्छ । “बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ”, किसान रानाले भन्नुभयो ।
विगतको तुलनामा किसान सचेत भएको उहाँ बताउनुहुन्छ । “पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पुर्याउनर्ुपर्छ भन्ने बुझ्दै आएका छन्”, उहाँले भन्नुभयो ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गर्नुभएको छ । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष रु चार/पाँच लाख आम्दानीलाई बढाएर रु सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उहाँ बताउनुहुन्छ ।
त्यसैगरी देवघाट गाउँपालिका-३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताउनुभयो । “पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्”, उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउनुहुन्छ । “हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका-४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ”, अधिकारीले भन्नुभयो, “कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटविरुवालाई उचित तत्त्व पुर्याउन समन्वय गरिरहेका छौँ ।”
तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ ।
किसान सचेत
विगतमा सुन्तला खेती निर्वाहमुखी भएर चलेको थियो । तर हाल किसान सचेत बन्दै गएका छन् । राम्रो उत्पादनका लागि किसानले सुन्तलाका बोटविरुवालाई खाद्यतत्व पुर्याउनुपर्ने कुरामा सचेत भएको कृषक जगतबहादुर महत बताउनुहुन्छ । मल, जल र खाद्यतत्व नै नराखी उत्पादन हुने निर्वाहमुखी खेती मानिएको थियो । अहिले व्यापारिक तवरबाट उत्पादन वृद्धिका लागि मलजल, खाद्यतत्व, स्याहारसुसार लगायतलाई प्राथमिकता दिने गरेको पाइएको महत बताउनुहुन्छ ।
“पहिले एक डोको मलसमेत हालिन्थिएन । अहिले चेतनास्तर वृद्धि भएर सुन्तलाको बोटमा एक डोको ठाउँमा दुइ डोको प्राङ्गारिक मल हाल्छन् । दुइ डोको हाल्ने गरेकोमा चार पुर्याएका छन् । सुन्तलाको उचित समयमा पोशकतत्व हाल्ने गरेका छन् । यसले गर्दा उत्पादन वृद्धि हुँदै गएको हो”, उहाँले भन्नुभयो ।
ब्लकबाट नै आएको बिरुवा लगाउनु, विरुवालाई पनि मानिसलाई जस्तै हेरचाह र उपयुक्त समयमा खाद्यतत्त्व र भिटामिन हालिएकाले सुन्तला उत्पादन वृद्धि भएको किसान बताउँछन् । मानिसले बालबालिकालाई हुर्काउँदा गरेको हेरचाहजस्तै खेतीबालीलाई पनि हेरचाह गर्न सक्नुपर्ने उनीहरुको भनाइ छ ।










