दमौलीमा नेपाल वितरक महासंघको नवौं साधारणसभा, करिब ४५० जनाको सहभागिता रहने

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल वितरक महासंघले नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । अधिकृत विक्रेता संघ तनहुँको व्यवस्थापनमा यही फागुन २९ गते दमौलीमा साधारण सभा गर्ने तयारी गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । देशभरका करिब ४५० जना अधिकृत विक्रेताका प्रतिनिधि तथा प्रवेक्षकहरु सहभागि रहने महासंघका महासचिव हरिराज पन्तले जानकारी गराए । पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष सुरेस अधिकारी, तनहुँका सचिव सरोज भण्डारीले कार्यक्रमका विषयमा जानकारी गराएका थिए । यस्तै, उक्त साधारण सभा कार्यक्रमले तनहुँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै कोरोना कहरका कारण थल परेको व्यापार व्यवसायलाई राहत पुग्ने महासंघका केन्द्रीय सदस्य एवं कार्यक्रम मुल समारोह समिति संयोजक मंगलप्रसाद श्रेष्ठले बताए ।
नेपाल भरिका अधिकृत बिक्रेताहरूको छाता संघ नेपाल बितरक महासंघको साधारणसभाले तनहुँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले दाबी गरेको छ । यस्तै, साधारणसभा सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजक समितिका आर्थिक उपसमिति संयोजक लालप्रसाद प्रधानले बताए । संघका अध्यक्ष लिल थापाले कार्यक्रम सफल पार्नका लागि जिल्लाभरका व्यवसायीको साथको अपेक्षा गर्दै कार्यक्रममा आउने पाहुनाहरुलाई जिल्लाका होटल व्यवसायीहरुसंग समन्वय गरी व्यवस्थापन गर्ने बताए ।
अधिकृत बिक्रेता संघ तनहुँका निवर्तमान अध्यक्ष मनोज अधिकारीले तनहुँका लागि यो एउटा राम्रो अवसर भएको हुँदा कार्यक्रमलाई सभ्य र भव्य बनाउनु हामी सबैको दायित्व भएको बताए ।










