दसैँमा मजदूर घर जाँद मुग्लिन–पोखरा सडक विस्तार कार्य रोकियो

भञ्ज्याङ न्यूज

दसैँ बिदाका कारण मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा काम रोकिएको छ । सडकखण्ड विस्तार योजनाका लागि खटिएका कामदार दसैँ बिदाका कारण घर गएकाले काम रोकिएको हो ।

मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार फूलपातीदेखि मजदुरलाई बिदा दिइएको छ । “दसैँ अवधिभर सडक विस्तारको काम हुँदैन, कामदार फर्किएपछि सम्भवत पूर्णिमापछि कामलाई पुनः सञ्चालन गरिनेछ,” सुवेदीले भन्नुभयो । सडक विस्तार योजनाको काम ढिला भएकाले अब तीव्र गतिमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

दसैँमा सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्नका लागि साना–साना खाल्डाखुल्डी मर्मतको काम गरिएको उहाँले बताउनुभयो । यद्यपि, अन्तिम समयसम्म काम भएका ठाउँका ठूला खाल्डा भने मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो ।

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरेर काम गरिएको छ ।

पूर्वी खण्ड अन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म तनि दशमलव ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८÷७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker