कांग्रेस व्यास नगरका निर्वाचित पदाधिकारीको पदस्थापन
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस व्यास नगर समितिका निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । पार्टी कार्यालय बीपी स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा नवनिर्वाचित सभापति सूर्यचन्द्र हड्खले नेतृत्वको टिमका पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गराइएको हो ।
जिल्लास्तरका सबै प्रमुख नेताहरु उपस्थित कार्यक्रममा नेताहरुले नयाँ समितिलाई प्रभावकारी रुपमा काम गर्न र सबैको भावना समेट्न सुझाव दिएका थिए । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, पार्टी सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, निवर्तमान व्यास नगर सभापति शान्तिरमण वाग्ले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
नवनिर्वाचित सभापति हड्खलेले बीपीको विचारका आधारमा पार्टीलाई झनै बलियो बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । निवर्तमान सचिव चुडामणि दाहाल समेतले बोलेको कार्यक्रममा निर्वाचन अधिकृत भरत काफ्लेले निर्वाचितलाई प्रमाण पत्र वितरण तथा पदस्थापना गराएका थिए । यस्तै, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सभापतिका प्रत्यासी डम्बर अधिकारीलाई नगर कार्य समितिमा मनोनित गरेको बताइएको छ ।










