पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण

गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिनुभयो । पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चारवटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएको थियो ।

गत वर्षको तुलनामा यस आवमा तीन सयवटा पाडीबाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ, चौधरीले भन्नुभयो, “बजेट घटेर आएका कारण यस वर्ष पाडीबाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ ।” पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ । यस वर्ष रु ३० लाख बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ ।

जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा दुई सय २१, व्यास नगरपालिकामा दुई सय आठ, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा आठ र ऋषिङमा एकवटा छनोटमा परेको थियो । आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उहाँले बताउनुभयो । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडीबाछीका लागि अनुदान पाउनेछन् ।

अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker