लमजुङको राइनासमा घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या

लमजुङ : लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको कोठामा रहेको खाटमुनि शनिबार राति मृत अवस्थामा फेला परेकी उनी घरमा एक्लै बस्थिन् । उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको र छोरी पनि विवाह भएर गएपछि उनी एक्लै घर बस्ने गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति करिब ९ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । ‘प्रारम्भिक रुपमा हेर्दा घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ । घटना शंकास्पद रहेकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।
मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । उनी करिब २ वर्षदेखि उक्त घरमा बस्दै आएको प्रहरीले जनाएको छ । केही दिनअघि कामको खोजीमा मनाङतर्फ गएका मगर शनिबार घर फर्किएपछि वृद्धालाई मृत अवस्थामा देखेको र प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।
घटना गम्भीर र शंकास्पद देखिएपछि प्रहरीले सात/आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।










