भानुका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम सञ्चालन

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिको सामुदायिक विद्यालयहरुमा कार्यरत महिला शिक्षक सुत्केरी बिदामा रहँदा विद्यालयको दैनिक पठनपाठन सुचारु रुपमा सञ्चालन गर्ने उद्देश्यले बिदाको अबधि भरका लागि स्वयंसेवक शिक्षक परिचालन गर्ने व्यवस्था गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले शिक्षा नियमावली २०७८ मा समेत यस सम्बन्धी व्यवस्था गरेको छ । यसै प्रयोजनका लागि नगर कार्यपालिकाले विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन कार्यविधि, २०७९ समेत जारी गरेको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।

उनले भने, ‘नगरपालिकाले पहिलो पटक यो व्यवस्था गरेको हो । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ बमोजिम महिला शिक्षक सुत्केरी हुँदा निजले सुत्केरीको अघि वा पछि गरी ९८ दिनसम्म सुत्केरी बिदा पाउने व्यवस्था रहेको हुँदा त्यस अवधिमा पठनपाठनमा कुनै समस्या हुन नदिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।’

‘नगरपालिकाबाट जारी भएको शिक्षा नियमावलीमा नै यस प्रकारको स्वयंसेवक शिक्षक व्यवस्था गर्ने प्रावधान रहेकोले अब यस व्यवस्थाको निरन्तरता रहनेछ’, शिक्षा अधिकारी पौडेलले भने, ‘नगरपालिकाले पहिलो पटक आफ्नो आन्तरिक स्रोतको परिचालन गरी विद्यालयको दैनिक पठनपाठन अवरुद्ध नहोस् तथा बालबालिकाको सिकाइ उपलब्धिमा कुनै प्रकारको कमि नआओस् भन्ने मूल उद्देश्यका साथ यो व्यवस्था लागु गरेको हो ।’

नयाँ व्यवस्था अन्तर्गत भानुमा पहिलो पटक पाँचजना स्वयंसेवक शिक्षकहरुले नियुक्ति दिई विभिन्न विद्यालयमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडाले जानकारी गराए ।

‘नगरपालिकाले सार्वजनिक सूचना जारी गरी स्वयंसेवक शिक्षक हुन चाहने मापदण्ड पुगेका व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको र दरखास्त दिएका व्यक्तिहरुलाई शैक्षिक योग्यता र अन्तरवार्ताको माध्यमबाट छनौट गरिएको हो’, खतिवडाले भने, ‘छनौट भई पहिलो पटक स्वयंसेवक शिक्षक बनेका पाँच जना शिक्षकहरुलाई विभिन्न विद्यालयमा खटाइएको छ । यो कार्यक्रमले बालबालिकाको सिकाईमा थप प्रभावकारी बन्ने हामीले विश्वास गरेका छौ ।’

नगरपालिकाका अनुसार प्राथमिक तहमा रोजिना मियाँ वडा नं. ९ को कालिका मावि डुम्रिखर्क, निम्न माध्यमिक तहमा नारायण भण्डारीलाई भानु संस्कृत मावि चुँदी, प्राथमिक तहमा राधिका बानियाँ अधिकारीलाई वडा नं. १ को सत्यवती देवी आवि सालविस्ने, निम्न माध्यमिक तहमा सुस्मिता थापालाई वडा नं. ५ को मैवले स्थित सरस्वती सदन मावि र प्राथमिक तहका सरस्वती आचार्य केसीलाई वडा नं. ११ बाँर्सखर्क स्थित सत्यवती प्राथमिक विद्यालयमा खटाइएको छ ।

स्वयंसेवक परिचालन कार्यविधि २०७९ बमोजिम स्वयंसेवक शिक्षकहरुले तीन महिनाको लागि सेवा गर्नुपर्ने व्यवस्था रहेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । नगरपालिकाले स्वयंसेवक शिक्षकहरुलाई बाल विकास केन्द्र सकाको मासिक १५ हजार, प्राथमिक तहको १८ हजार, निम्न माध्यमिक तहको २० हजार, माध्यमिक तहको २५ हजार र उच्च माध्यमिक तहको २८ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था मिलाएको नगरप्रमुख त्रिपाठीले जानकारी गराए ।

नगरपालिकाले स्वयंसेवक शिक्षकहरुलाई महिनामा २ दिन बिदा दिने व्यवस्था गरेको छ । सेवा सकिएपछि शिक्षकहरुको कार्य सन्तोजनक भएमा उनीहरुले सेवा प्रमाणित पत्रका साथै प्रशंसा-पत्र पनि प्राप्त गर्ने भएको छ । बालकालिकाको दैनिक सिकाइ सहजीकरणका साथसाथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यो कार्यक्रमको निरन्तरता दिने योजनामा नगरपालिका रहेको नगरप्रमुख त्रिपाठीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker