देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १४ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण लमजुङ, कैलाली, विराटनगर, कास्की, कपिलवस्तु, तनहुँ र ओखलढुंगामा १८ जना घाइते भएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा आँधीखोलाले बगाउँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार मृत्यु हुनेमा सूर्य भण्डारी छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ ।

कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–३ भितरिया बस्ने ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय शालिम चौधरी छन् । खेतमा काम गर्दा चट्याङ परेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

कैलालीमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बस्ने २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुस्मा डगौरा, भजनी नगरपालिका घर भएका ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी बस्ने ९ वर्षीय सरस्वती भुल र ७ वर्षीय पारु कठायत छन् । घोडाघोडी–९ घर भएकी १० वर्षीय खिमा काठायत पनि घाइते भएकी छन् ।

मोरङको रंगेली नगरपालिका वडा नम्बर–४ मा घाङी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको मोरङका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । मंगलबार बुढी खोलाले बगाएको दुई जनाको अवस्था अझै अज्ञात छ ।

अविरल वर्षासँगै आएको बाढी विराटनगर महानगरपालिका–६ स्थित बस्तीमा पसेको छ । बाढीका कारण करिब ५ सय परिवार विस्थापित भएका छन् । विराटनगर–१२ मा ६० वटा घर डुबेका छन् ।

लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति गएको पहिरोका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार छन् । पहिरोमा परेर १८ वर्षीय मिलन सुनार घाइते भए । पहिरोका कारण बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

लमजुङको क्वहोलासोथर गाउँपालिका–३ मा पहिरोमा परेर ६९ वर्षीय रुद्रमान गुरुङसहित ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्युटोलमा पहिरो जाँदा ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीय छोरी नम्रता र ७ वर्षीय इच्छा गुरुङको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका घर हुने १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका २३ वर्षीय अनमोल सुनार छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् ।

त्यस्तै, पोखरा महानगरपालिका–१४, चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको सो सडक एकतर्फी खुला गरिएको छ ।

चितवनको माडीस्थित मगै खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ । माडी नगरपालिका–५ बस्ने ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएको चितवनका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा पहिरो जाँदा ३५ वर्षीय देव कुमारी खत्रीको मृत्यु भएको छ । ओखलढुंगामा पहिरोका कारण दुई जना घाइते भएका छन् ।

कपिलवस्तुमा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–८ घर भएका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका घर भएका १८ वर्षीय राजु ठाकुर छन् । नवलपरासी पूर्वमा पनि चट्याङ परेर एक जना घाइते भएका छन् ।

दैलेखस्थित भैरवी गाउँपालिकामा चट्याङ लागेर ५५ वर्षीय धीरबहादुर शाही र २६ वर्षीय कुसुम शाही घाइते भएका छन् ।

विराटनगर विमानस्थल सुचारु

वर्षाका कारण अवरुद्ध भएको विराटनगर विमास्थल सुचारु भएको छ । पानीको मात्रा सतहबाट माथि आएपछि बन्द भएको विमानस्थल अहिले सुचारु भएको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker