छाब्दी बराही व्यास ऋषिको जन्म र तनहुँ
के.वि. मसाल

गण्डकी प्रदेशको तनहुँको दमौलीमा वेदव्यासको जन्मभूमि छाब्दी बराही नजिकै सेती र मादी नदीको संगमस्थल मानहुँ पहाडको फेदीमा परासर ऋषिको आश्रम र नदीकै किनारमा व्यास गुफा पनि रहेको छ । व्यास गुफाबाट व्यास ऋषिले १८ पुराण र उप-पुराणको ब्रह्र सुत्र लेख्नु भएको मानिन्छ ।
ब्यास ऋषिले नै वेदलाई लिपिवद्ध गरी चार भागमा बिभाजन गरेका थिए । छाब्दी बराहीको इतिहास ब्यासकी माता सत्यवती र परासर ऋषिसंग जोडिएको छ । छाब्दी बराहीको उत्पत्तिको धार्मीक मान्यता अनुसार परापूर्वकालमा एकजना माझीले मादी र सेती नदीको संगमस्थल व्यासगुफा नजिकै माछा मार्न लागेका थिए । माच्छा मार्ने क्रममा गर्भधारण गरेको माछा जालमा पर्न गयो । माछाको पेट चिरेर हेर्दा अत्यन्त सुन्दर बालिका फेला परिन् । माच्छा मार्नेमाझी निसन्तान थियो । माच्छाको पेटबाट निस्किएकी बालिकालाई लालनपालन गर्दै आफ्नो काम समेत सिकाउँदै गयो । माझीसंग सधै डुङगामा हिडदा वालिकाले डुङ्गा चलाउन पनि जानेकी थिइन ।
एकदिन बालिकाले डुङ्गा चलाउने बेला परासर ऋषि भेटिए । सुन्दरी बालिकाले डुङ्गा चलाएको देख्दा परासर ऋषिलाई यौन उन्माद चढयो । उनले यौन प्रस्ताव राखे । बालिकाले दिउँसो उज्यालो भएको बेला यस्तो काम गर्न हुँदैन भन्दै आफू माछाबाट जन्मिएको र शरीरमा समेत माछाको गन्ध आउने सबै कुरा बताइन् । तर ऋषिले यौन तृष्णा मेटाउन उतिखेरै कुहिरो उत्पन्न गराए । माछाको गन्ध मेटाउन अत्तर समेत श्रृजना गरी यौन तृष्णा मेटाए । यसरी डुङ्गामा गर्भवती मत्स्यकन्याले व्यास ऋषिको जन्म दिइन् । जुन कारणले मत्स्यागन्धाको रुपमा छाब्दी बराहीलाई मान्ने गरिएकोछ । छाब्दी अहिले तनहँु जिल्लाको व्यास नगरपालिकाको १४ नम्बर वडामा पर्दछ ।
छाब्दी मगर भाषामा राखिएको नाम हो । छाब्दी बराही मन्दिर भन्दा माथी पहाडमा कुलुङ नाम भएको मगर गाउँ छ । कुलुङ गाउँबाट बग्दै आउने पानीको झरना केही तल आएपछि हराउँछ । त्यहि दबिएर हराएको पानी छाब्दी बराहको पोखरीमा निस्कन्छ । मगर भाषामा दबिएको पानीलाई छाच्छोडी भनिन्छ । छाच्छोडी भन्दा भन्दै बोल्ने क्रममा छाब्दी भएको कुरा स्थानीय मगर जातीहरुले बताउँछन् । व्यास ऋषिको जन्म छाब्दी बाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टकिो कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रुपबाट जन्म भएकोले कुण्डको नाम मच्छे कुण्ड रहन गएको हो । आमाको पूजाको लागि व्यास ऋषिले छाब्दी बराहीमा माछाको पूजाआजा चलाएको मानिन्छ छाब्दी बाराही र तनहुँकै ढोरफिर्दीको ढोरबाराही दिदी बहिनी मानिन्छ । यी मन्दिरका माछा मरेमा पुजारीले तिनको हिन्दु परम्परा अनुसार काजक्रिया गर्नुपर्छ । बाराह मन्दिरमा पशु बली दिने चलन छ। तर औँसी, एकादशी र श्रावण महिनामा भने पशु बली दिन पाइदैन ।
आज भन्दा तीनसय बर्ष अगाडिसम्म छाब्दी बराहीको पहिचान हुन सकेको थिएन। वि.स. १८०० जेष्ठ महिनाको ८ गते साँझ कन्याको भेषभुषामा छाब्दी गाउँको जहरसिंह आलेको घरमा गएर बास मागिन् । आलेले कन्यालाई भने- बास दिन सक्छु तर म गरिव छु घरमा खाने कुरा केही छैन भने । कन्याले ती आलेको कुरा सुनेपछि आफ्नो परिचय दिदै भनिन् म देवीको अवतार हुँ । म छाब्दीको जलकुण्डमा बस्ने गर्दछु । अबदेखि मेरो पूजाआजा आलेको सन्तानले चलाउनु भन्दै ती कन्या अलप भइन् । त्यसपछि जहरसिंह आलेले छाब्दीमा पूजा गर्न थाले । अहिलेसम्म पनि उनै आले मगरका सन्तानले पुजारीको काम गर्दै आएका छन् । तनहुँ जिल्ला मगर जातिको थलो पनि हो । बराही मगरजातीको मुख्य देवता हुन । तर छाब्दी वराहीमा तीर्थाटनको लागि सबै जातीहरु पुग्ने गर्दछन ।
छाब्दी बराही आजभोलि तीर्थाटन स्थलको रुपले मात्र नभएर पर्यटकीय दृष्टिकोणले पनि विकास हुन थालेको छ । आफूले मागेको बर बराहीले पुर्याइदिने विश्वासमा भाकल गरी बोका, कुखुरा, हाँस र परेवाको बलि दिने तीर्थाटनका पर्यटकको भीड पनि दैनिक रुपमा बढदो छ । यातायातको सुविधाकै कारण केही वर्षयता छाब्दीमा पिकनिक जानेहरुको पनि उतिकै भीड हुने गर्दछ । मुग्लिन, आँबुखैरेनी, डुम्रे, दमौलीका मात्र होइन पिकनिकका लागि पोखरा स्याङजाबाट समेत संघ/संस्थाका मानिसहरु र विद्यार्थी समेत छाब्दीमा पुग्ने गर्दछन् । छाब्दी खोलाको वातावरण स्वच्छ छ । हराभरा जंगल, चराचुरुङीको आवाज, छाब्दी खोलाको पहरामा टाँसिएको छाब्दी बराहीको मन्दिर र शान्त वातावरणले जो कोहीलाई पनि छाब्दी बराही पुगेपछि आनन्दको महसुस हुन्छ ।

छाब्दी बराहीमा तीर्थाटनका पर्यटकहरुलाई खान बस्नको लागि कुनै समस्या पर्दैन । बराही मन्दिर नजिकै होटल र जलको सुबिधा छ । तर ग्रामीण परिवेश र मगर संस्कृतिमा रमाउन चाहनेका लागि कुलुङ गाउँको होमस्टे मा पुग्न सकिन्छ । कुलुङ शब्द मगर भाषाको हो । मगर भाषामा बोल्ने क्रमका कुलुङलाई कुरुलुङ भन्ने गरिन्छ । कुरुलुङ भनेको नेपालीमा शत्रुलाई प्रहार गर्ने ढुङ्गा भन्ने भाव हुन्छ । छाब्दी बराहीदेखि करिव ३ किलो मिटरको दुरीमा रहेको कुलुङ गाउँ जान तरेली परेको उकालो बाटो पैदल यात्रा गर्नु पर्दछ । अथवा पैदल यात्रा गर्न नसक्नेले सदरमुकाम दमौलीबाट करिब १५ किलोमिटर पूर्व दक्षिणतर्फको कच्ची मोटरमार्गबाट पनि कुलुङ गाउँ पुग्न सकिन्छ । गाउँ पुग्नेबित्तिकै जातीय पहिरनमा सजिएका मगर युवतीहरुले फूलमालासहित स्वागत गर्छन् ।
कुलुङ गाउँका ६० घरमध्ये करिब ४५ घर मगरकै छ । मगरहरुको कौरा नाच कुलुङ गाउँका अर्को आकर्षण हो । चुडका र कौरा नृत्यहरु देख्न पाउँदा पर्यटकहरु रमाउछन । पर्यटकहरुले गाउँबाट उत्तरतर्फ लहरै हिमशृंखलाको दृश्यलाई कैद गर्दै सेल्पिm लिन पाउँदा रमाउने गर्दछन । कुलुङ गाउँबाट उत्तरतर्फ देखिने सेता हिमाल । दक्षिणतर्फ विशालफाँट, दमौली बजार लगायत सुन्दर डाडाबाडाका बस्तीहरु चिटिक्क परेका परम्परागत घर देख्दा सबै पर्यटकहरु लोभिन्छन । प्राकृतिक छटा र मगर संस्कृतिमा रम्न चाहनेका लागि उत्कृष्ट गन्तव्य बनेको छ कुलुङ गाउको होमस्टे । कोदोको ढिंडो, मकैको आटो, निहुरो, सिप्लिकानको तरकारी, अचार, लोकल कुखुराको मासु र कालो दाल कुलुङ गाउँका होमस्टेका विशेष परिकार हुन् ।
छाब्दी बराही मात्र होइन तनहुँमा अनौठो प्राकृतिक दृश्य देख्न सकिने शुक्लागण्डकी नगरपालिका-९ मा ढोरबराही मन्दिर रहेको छ । पहाड भित्रबाट प्रत्येक एक घण्टाको समयमा दुइदेखि तीन पटक पानीको बहाव आउने, जलकुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बनेको ढोरबराहीमा देख्न सकिन्छ । ढोरबराहीको अचम्मको पानीको लहरी हेर्न पर्यटकहरु पुग्ने गर्दछन । मन्दिरमा अनौठो प्राकृतिक दृश्य हेर्न स्वदेशी मात्र होइन विदेशी पर्यटकहरु समेत ढोरबराहीमा पुग्दछन । लहरी अर्थात पानीको ठूलो भल आउनुभन्दा केही समय पहिला कुण्डमा रहेका माछाहरु भल निस्कने मुहानतर्फ जम्मा हुन्छन् । ढोरबराही मन्दिरको कुण्डमा ढोरबराहीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन पनि छ । पानी आउने मूलको भित्र करिव ७ वटा रजवाम रहेको र शान्त वातावरणमा बाहिर निस्कने गर्दछन । मन्दिरमा नेपाल सम्वत् ९११ सालमा चढाइएको एउटा घण्ट पनि छ । पृथ्वी राजमार्ग खण्डको खैरेनीटारको गाछेपानीबाट पश्चिम सेती नदी तरेर करिव पाँच किलोमिटर कच्ची मोटर बाटोको दूरीमा ढोरबराही पुग्न सकिन्छ ।
तनहुँमा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य पहाडकी रानी नामले चिनिने बन्दीपुर हो । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । पश्चिम नेपालको अपी, शैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङ लगायत सयौं चुचुराहरु बन्दीपुरबाट देख्न सकिन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घरहरु बन्दीपुरको प्रमुख आकर्षण हो । अठारौं शताब्दीमा निर्मित खडकदेवी मन्दिर, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी, तीनधारा महादेव, रानीवन, प्याराग्लाइडिङ, केशवटार हुँदै दमौलीसम्म माउन्टेन बाइकका लागि पनि बन्दीपुर प्रसिद्ध छ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो । १ हजार ३० मिटर अग्लो डाँडामा रहेको बन्दीपुरको सुन्दरता हेर्न धेरै पर्यटक पुग्ने गर्दछन। पर्यटक बढन थालेपछि बन्दीपुरमा होटल तथा रेस्टुराँले आफ्नो क्षमता बढाएका छन् । बन्दीपुर पुग्ने पर्यटकलाई हावापानी, संस्कृति र रीतिरिवाजले फरक अनुभूती दिन्छ ।
तनहुँको सदरमुकाम बन्दीपुरबाट २०२५ सालमा दमौलीमा सारिएको हो । अहिले दमौली क्षेत्रमा धेरै विभिन्न जातजातिको बसोबास गर्दछन । तर पनि दमौलीमा दरै र बोटे आदिवासीको रुपमा परिचित छन् । दरै जातिका हस्तकला छत्री, ढकिया, गुदको गुन्द्री एवं माछा मार्ने ढडिया पर्यटकहरुले चिनो स्वरुप लिने गरेका छन । छाब्दी पुग्ने पर्यटकले आफ्नो भ्रमण समय लम्याउन चाहे तनहुँसुर-भानु जन्मस्थल चुँदी पनि पुग्न सकिन्छ । तनहुँसुर बाइसे-चौबिसे राजाको पालामा अन्तिम सेन वंशी राज्यको रुपमा समेत परिचित छ । तनहुँसुरमा रहेका पुराना दरबार, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखानाका अवशेषहरु त्यहा पुग्ने पर्यटकको लागि मुख्य आकर्षणका केन्द्र हुन् । तनहुँसुर ऐतिहासिक, धार्मिक, पुरातात्विक, राजनीतिक, सांस्कृतिक तथा जैविक विविधताको केन्द्रविन्दु पनि हो । तनहुँसुरमा होमस्टेको समेत ब्यवस्था छ । चुँदी रम्घा आदीकवी भानुभक्तको जन्मस्थल हो ।

छाब्दी, बन्दीपुर र तनहुँका ऐतिहासिक कोट मात्र होइन समय बचत भए साहसी पर्यटकहरुको लागि दमौली-चितवन जलविहार गर्न समेत सकिन्छ । दमौलीबाट कोइदिमघाट, खहरे, साराङघाट, प्युघर, गाईघाट हुँदै चितवनसम्मको दर्ुइ दिने सेतीमादी जलविहार कार्यक्रम पर्यटकको लागि प्याकेजको रुपमा रहेको छ । दमौलीबाट चितवनसम्मको ३२ किमी जलविहार गर्दा नदी किनारमा रहेका बिभिन्न गाउँ र बस्तीहरुको अध्ययन समेत गर्न सकिन्छ । अहिले दमौलबिाट सेती नदीको तिरैतिर मुग्लीन-नारायणघाट सडक खण्डमा पर्ने घुमौनेघाट सम्म मोटर मार्ग बनेको छ । जलविहार गर्न नचाहने पर्यटकहरुको लागि दमौलीबाट गुदीफच्याङ, केशवटार, सुकौराफाट, धरमपानी, सारङघाट भएर पनि घुमौने निस्किएर नारायणघाट अथवा काठमाण्डौ तर्फजान सकिन्छ । यो सडक ३७ किलो मिटको दुरी पर्दछ । यसलाई अहिले बैकल्पीक मार्गको रुपमा निर्माण गर्न घुमौनेमा पक्की पुलको योजना बनेको छ ।
तनहुँ जिल्ला तीर्थाटन स्थलको रुपमा धनी छ । ऐतिहासिक कोट र कालीनदी, सेतीनदी किनारमा रहेका देवघाट, केलादीघाट जस्ता धार्मिक स्थलले पनि पर्यटनको संख्यामा बढाएको छ । तनहुँ जिल्लामा पुग्ने धार्मिक एवं अन्य पर्यटकहरुलाई केही वर्ष अगाडिबाट पदयात्रा स्थलको पहिचान गरी पर्यटनहरुलाई सजिलो बनाएको छ । छाब्दी बराहीको यात्रापछि दमौलीबाट घाँसीकुवाँ, तनहुँसुर, मिर्लुङकोट, कुन्छा हुँदै अन्नपूर्ण बेसक्याम्प जाने एउटा मार्ग तोकिएको छ । त्यसैगरी पृथ्वी राजमार्गमा पर्ने दुलेगौडाबाट ढोरफिर्दी, फिरफिरे हुँदै स्याङजा जिल्लाको प्रख्यात पर्यटकीय गाउँ सिरुवारीसम्म जाने रुटको तय पनि जिल्लाले बनाएको छ । दमौलीबाट सेती नदी तरेर मानुङकोट हुँदै काली गण्डकी पार गरी नवलपरासी जिल्लाको वुलिङटार, डेडगाउँ हुँदै कावासोती निस्कने पनि पर्यटकहरुको लागि रुट बनेको छ । प्रकृति प्रेमीहरुको लागि बन्दीपुरबाट झारगाउँ, हिलेखर्क, छिम्केश्वरी लेक भएर आबुखैरेनी सम्मको यात्रा पनि गर्न सकिने छ ।
छाब्दी जान यतिखेर धेरै ठाउँबाट मोटर मार्ग जोडिएको छ । सदरमुकाम दमौलीको बुल्दीखोलाको पुलबाट भादगाउँ, चारकुने, खकैली, रतैली, मोहरियाटार, पन्थगाउँ, भडखला हुँदै ७ कि.मी.को यात्रामा छाब्दी बराह पुगिन्छ । पृथ्वी राजमार्गको छिर्कनेबाट पनी छाब्दी जान सकिन्छ । छिर्कनेबाट छाब्दी जादा बाटोमा पर्ने वेलघारी, कर्लुङगाउँ वरपरबाट तनहुँ जिल्लाको ऐतिहासिक तनहुँसुर, मैवल, वरभन्ज्याङ गाउँहरु र धेरै हिमालको समेत अवलोकन गर्न सकिन्छ । छिर्कनेबाट छाब्दी करिव ८ कि.मीको दुरी पर्दछ । बन्दीपुर घुमेर छाब्दी आउने पर्यटकहरुले आजभोली बन्दीपुरबाट छोटो मार्गमा छाब्दी पुग्न सक्दछन । बन्दीपुरबाट बरटार, सेराटार, रामकोट, कुलुङ वरभन्जयाङ र राशिभन्ज्याङ भएर पनि छाब्दी पुग्न सक्दछन । यो बाटो बन्दीपुरबाट छाब्दी पुग्नको लागि करिव १३ कि.मी पर्दछ ।
तनहुँ जिल्लाका यात्रा गर्दा खानाबस्नको लागि कुनै समस्या हुँदैन । सवारी साधन चल्ने गाउँठाउँमा होटलहरु खुलेका छन । धेरै गाउँमा होमस्टेमा समेत बस्न सकिन्छ । यातायात खर्च बाहेक दैनिक एक हजार रुपयाँले तनहुँमा भ्रमण गर्न सकिन्छ ।