शुक्लागण्डकीका किसानले फूल बिक्रीबाट झण्डै १० लाख रुपैयाँ कमाए

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा यस वर्षको तिहारमा सयपत्री फूल बिक्रीबाट किसानले झण्डै १० लाख रुपैयाँ आम्दानी गरेका छन् । व्यावसायिक रूपमा फूलखेती गरेका किसान र फुटकर उत्पादकले उत्पादन गरेको २ हजार ७६० किलो फूल बिक्रीबाट ९ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

नगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूलखेती गरेका १५ किसान तथा फुटकर उत्पादकले उत्पादन गरेको सबै फूल बिक्री भएको छ। तिहारमा स्थानीय फूलको माग बढेपछि किसानले उत्पादन गरेको फूल सहजै बजारमा बिक्री गर्न पाएका हुन् ।

सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिका–१० का मुक्ति सिग्देलले करिब ६८५ किलो सयपत्री फूल बिक्री गरेका छन् । त्यसैगरी, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारीले २२० किलो र कृषक शान्ति भण्डारीले २०० किलो फूल बिक्री गरेको नगरपालिकाले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाले तिहारलाई लक्षित गरी कृषि उपज संकलन केन्द्रमा तीनदिने विशेष हाटबजार सञ्चालन गरेको थियो । हाटबजारमा सयपत्री फूलको मूल्य प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको थियो । यसले किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको थियो ।

नगरपालिकाका कृषि शाखा प्रमुख दीपकुमार उपाध्यायका अनुसार यस वर्ष किसानले उत्पादन गरेको सबै फूल बिक्री भएको छ । ‘फूल बिक्री भएन भन्ने गुनासो कतै सुनिएन’, उनले भने, ‘कतिपय किसानले बेलचौतारास्थित कृषि उपज संकलन केन्द्रमा ल्याएर बिक्री गरे भने कतिपयले आफैँ बजारमा लगेर बिक्री गरे ।’

स्थानीय किसानलाई फूलखेतीतर्फ थप आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले यस वर्ष सयपत्री माला उन्ने प्रतियोगितासमेत आयोजना गरेको थियो। स्थानीय उत्पादनको बजारीकरण र किसानको प्रोत्साहनका लागि सञ्चालन गरिएका यस्ता कार्यक्रमले फूलखेतीलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस वर्ष उत्पादित सबै फूल बिक्री हुनु शुक्लागण्डकीमा पुष्पखेतीको बजार सम्भावना बढ्दै गएको संकेत हो । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानलाई व्यावसायिक फूलखेती विस्तार गर्न थप हौसला मिलेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker