तनहुँको व्यास नगरपालिकामा अनलाइनबाट राजस्व भुक्तानी सेवा
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकाले प्रविधिको अधिक्तम् प्रयोग गरी सेवा प्रवाह गर्ने गरी विद्युतीय कर भुक्तानी प्रणाली सेवाको शुभारम्भ गरेको छ ।
नवप्रवर्तनीय साझेदारी कार्यक्रम ‘एकीकृत डिजिटल व्यास नगरपालिका’ परियोजना मार्फत विहीबारबाट सञ्चालनमा ल्याइएको विद्युतीय भुक्तानी प्रणालीको नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले अनलाइनबाट सम्पति कर भुक्तानी गरी सेवा शुभारम्भ गरेका छन् ।
सेवा शुभारम्भ गर्दै नगरप्रमुख न्यौपानेले अब नगरवासीले घरमै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने बताए । ‘नगरको सुविधाका लागि सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल लगायतका सम्पूर्ण कर भुक्तानी अब नगरबासिले घरमै बसेर आफैले तिर्न सक्नुहुन्छ’, उनले भने, ‘प्रविधिको सहि रुपमा प्रयोग गरी यसको भरपुर उपयोग गर्न नगरबासीलाई अनुरोध गरे ।’
बदलिदो समय अनुसार डिजिटल गभर्नेस र विद्युतीय सुशासनको माध्यमबाट सेवा प्रवाह गर्न इनोभेटिभ कार्यक्रमहरु थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्दा कर्मचारीहरुमा कामको चाप कम हुने र समयको समेत बचत हुने हुँदा उनीहरुलाई अरु काममा संलग्न गराउन सकिने उनले बताए ।
विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन डिजिटल साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताउँदै उनले भने, ‘आजदेखि अनलाइन प्रणाली सुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फ विना झन्झट राजस्व भुक्तानी गर्न सक्नुहुन्छ ।’
नगरपालिकाले विद्युतीय भुक्तानीको माध्यम इ-सेवा, कनेक्ट आइपिएस, आइएमइ पे, प्रभु पे, खल्ती लगायतका एपको प्रयोग गर्न मिल्ने बनाएको छ । करदाताले कर तिर्न इ-पोर्टलमा विवरण भरेर दर्ता गराएपछि डिजिटल भुक्तानी प्रणाली प्रयोग गरी मोबाइलबाटै कर भुक्तानी गर्न सक्ने सुचना अधिकारी कुमार कञ्चन जिसीले बताए । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।










