दूध बेचेर तनहुँका किसानले गत वर्ष कमाए रु २४ करोडभन्दा बढी
तनहुँ : तनहुँका दुग्ध उत्पादक किसानले एक वर्षको अवधिमा दूध बिक्रीबाट २४ करोड रुपियाँभन्दा बढी आम्दानी गरेका छन् । तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध १८ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको दूध बिक्रीबाट किसानले गत आर्थिक वर्षमा उल्लेख्य आम्दानी गरेका हुन् ।
सहकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा किसानले १५ लाख ६८ हजार लिटर दूध बिक्री गरेका थिए। उक्त दूध बिक्रीबाट किसानले २४ करोड ११ लाख १० हजार १६२ रुपियाँ आम्दानी गरेका छन् । तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध करिब एक हजार पाँच सय व्यावसायिक किसान दूध उत्पादन तथा पशुपालनमा संलग्न छन्। गाउँगाउँमा रहेका सहकारीमार्फत उत्पादित दूधको नियमित संकलन र बजारको व्यवस्था भएपछि किसानको पशुपालन व्यवसायप्रतिको आकर्षण बढ्दै गएको संस्थाका अध्यक्ष तुलसीराम सापकोटाले बताए ।
‘दूध बिक्रीका लागि बजारको समस्या नभएपछि किसान व्यावसायिक पशुपालनतर्फ उत्साहित भएका छन्’, उनले भने, ‘यसबाट किसानको आम्दानी बढ्नुका साथै गाउँमै रोजगारीका अवसरसमेत सिर्जना भएका छन् ।’
किसानले उत्पादन गरेको दूध स्थानीय सहकारीमार्फत संकलन गरी तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा ल्याइन्छ । संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार हाल सहकारीमार्फत दैनिक आठ हजार लिटरभन्दा बढी दूध संकलन र बिक्री हुँदै आएको छ ।
तनहुँका विभिन्न गाउँबाट संकलन भएको अधिकांश दूध सुजल डेरीमार्फत पोखरा पठाइने गरेको उनले जानकारी दिए । नियमित बजार र संकलन प्रणालीको विस्तारसँगै किसानले उत्पादन गरेको दूध बिक्री नहुने समस्या कम भएको सहकारीको भनाइ छ ।
दूध बिक्रीबाट हुने किसानको आम्दानी वर्षेनी बढ्दै गएको तथ्याङ्कले पनि देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा किसानले १३ लाख ४६ हजार २४ लिटर दूध बिक्री गरी २१ करोड ६७ लाख ५७ हजार ७२५ रुपियाँ आम्दानी गरेका थिए । गत आर्थिक वर्षमा दूध बिक्रीबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा दुई करोड ४३ लाख ५२ हजार ४३७ रुपियाँले बढी हो ।
दूध उत्पादनसँगै बजारको सुनिश्चितताले ग्रामीण क्षेत्रमा व्यावसायिक पशुपालन विस्तार हुन थालेको छ । परम्परागत रूपमा घरायसी प्रयोजनका लागि सीमित पशुपालन गर्दै आएका किसान समेत अहिले दूध उत्पादनलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा लिन थालेका छन् ।
सहकारीमार्फत संकलन, बिक्री तथा बजार व्यवस्थापनको संयन्त्र बलियो बन्दै जाँदा किसानलाई उत्पादित दूध बिक्रीको चिन्ता कम भएको छ । यही कारण तनहुँका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसाय विस्तार हुनुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसरसमेत बढ्दै गएको सहकारीले जनाएको छ ।










