“हाम्रो मताधिकार हामी आफै प्रयोग गर्न चाहन्छौं”
भञ्ज्याङ समाचारदाता/तनहुँ

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचने सबै क्षेत्रलाई तताउँदै लगेको छ । चोक, चौतरा, चियाँपसलदेखि घरघरसम्म अहिले चुनावी चर्चा नै चल्ने गर्छन । यो चुनावी चर्चाबाट अपाङ्गता भएका व्यक्तिहरु पनि अलग हुन सकेका छैनन् ।
मतदाता नामावलीमा नाम भएका अपाङ्गता भएका व्यक्तिहरु पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर छन । उनिहरु भोटदिने अधिकार आफैं प्रयोग गर्न चाहेको बताउँछन् । अपांगतामैत्री मतदान केन्द्र नहुँदा सहयोगीको भरमा मतदान गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनिहरुको माग छ ।
जिल्लाको व्यास नगरपालिका-१० की ३२ वर्षीया कृष्णा थापा ह्वीलचियरमा हिड्डुल गर्छिन । उनको साहारा भनेकै ह्वीलचियर हो । २०६९ सालमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता भएपनि शारीरिक अवस्था र अस्वास्थका कारण संविधानसभाको पहिलो र दोश्रो तथा २०७४ सालको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न नसकेको थापा बताउँछिन्।
उनको मतदान केन्द्र व्यास-१० स्थित भानु माध्यमिक विद्यालयमा हो । गत स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाँदा विद्यालयमा भएका सिढिले अप्ठ्यारो पारेको उनले सुनाइन् । उनले भनिन्, ‘विद्यालयको गेटबाट तल जाँदा ओरालो छ र आउदा उकालो। सामान्य बाटोमा ह्वीलचियर एक्लै मज्जाले चलाउन सक्छु तर त्यहाँ कसैको साहारा चाहिन्छ । अझ भोट हाल्ने दिनमा मेनगेट नखोल्दिदा झन् समस्य हुन्छ ।’
‘स्थानीय तहको निर्वाचनमा भोट हाल्न भाईसंगै गएको थियो । मतपेटिका अग्लो ठाउँमा र सिढिहरु भएका कारण सरहरुले यहाँसम्म त आइसक्नुभयो अब हजुरको भोट भाइले हाल्दिएपनि हुन्छ भन्नुभयो’, उनले भनिन्, ‘म शारीरिक रुपमा अपांगता भएपनि आफ्नो भोट आफै हाल्न सक्छु । जब मेरो भोट पुरै गनिन्छ भने म आफैले भोट हाल्न किन नपाउने भनी आफैले भोट हाले । त्यो बेला मतपेटिका अग्लो स्थानमा राखिदिंदा मत खसाल्न भने अप्ठ्यारो भयो ।’
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि भोट दिन तयारी अवस्थामा रहेको बताउँदै उनि भन्छिन्, ‘घाँस भएको चौरमा ह्वीलचियार गुडाउन गाह्रो हुन्छ, सिढि चढ्न पनि सकिदैन । भोट दिन अपांगता भएका व्यक्तिहरु पनि आउछन्, उनीहरुलाई पनि सहज रुपमा भोट दिने वातावरण बनाउनुपर्छ भन्ने सोच राखि सम्बन्धित निकायले मतदान केन्द्र अपांगतामैत्री बनाइदिए हामीले पनि सहजरूपमा मतदान गर्न पाउँथ्यौं ।’
यस्तै शारीरिक रुपमा अपांगता भएका चिजकुमार श्रेष्ठको मतदान केन्द्र व्यास-२ स्थित सत्यवति माध्यमिक विद्यालयमा हो । स्थानीय तहको निर्वाचनमा आफ्नो भोट दिन गएका ह्वीलचियार प्रयोगकर्ता श्रेष्ठले छाप लगाउने ठाउँ सिढिमाथी हुँदा आफै भोट दिन पाएनन् । उनीसंगै साथी गएकी उनकी श्रीमतिले श्रेष्ठको भोट हाल्दिन । श्रीमतिले आफ्नो नामको मतपत्र बुझि भोट दिएपनि आफैले भोट दिएको जस्तो नभएको उनले बताए ।
‘उमेर पुगेका सबै नागरिकले भोट दिन पाउने अधिकार भएपनि अपांगता भएका व्यक्तिलाई भोट दिने सहज वातावरण किन बनाइदैन -‘, सहृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्रि सुवेदीले प्रश्न गरिन् । निर्वाचनमा मतदान केन्द्र अपांगतामैत्री नहुँदा अपांगता भएका अधिकांश व्यक्तिहरु आफ्नो मताधिकार प्रयोग गर्नबाट बञ्चित हुनुपरेको उनले सुनाइन् । उनले भनिन्, ‘भोटदिने हाम्रो अधिकार हामी आफैं प्रयोग गर्न चाहान्छौं, त्यसको व्यवस्थापन राज्यले मिलाउनर्ुपर्छ ।’
‘मतदान केन्द्र अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिहरुलाई मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ’, उनले भनिन्, ‘मतदान स्थलसम्म जसोतसो पुगेपनि अरुले नै मतपत्र बुझि भोट हाल्दिन सुझाव दिन्छन् र त्यसै गर्छन् । यसो गर्दा हामीले आफ्नो मताधिकार प्रयोग गरेको जस्तो लाग्दैन ।’ मतदान केन्द्रलाई अपांतामैत्री बनाउन पटक-पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ नभएको सुवेदीको गुनासो छ ।
जिल्लाका भौतिक संरचनाहरु अपांगतामैत्री नहुँदा निर्वाचनको समयमा अपांगता भएका व्यक्तिहरुलाई असहज हुने गरेको अपांगताका क्षेत्रमा काम गर्दै आएका पदम परियारले बताए । गत स्थानीय तहको निर्वाचनमा व्यास-१ का तुलबहादुर सिलवलले मत दिन नपाएको स्मरण गर्दै परियारले भने, ‘मतदान स्थलसम्म पुग्न नसक्दा उहाँले मत दिन पाउनु भएन । मनदान स्थलसम्म पुगेका अपांगता भएका व्यक्तिहरुमा पनि राजनीतिक दलका व्यक्तिहरुले आफ्नो मान्छे भन्दै अपांगताको नाममा मत दिएको देखिएयो ।’
यस्तै, अपांगता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हर्रि्रसाद ढकालले बताए । उनले भने, ‘प्रत्येक स्थानीय तहमा नमूना मतदान गरिरहेका छौं । यहि समयमा पनि अपांगता भएका व्यक्तिहरुलाई कस्तो व्यवस्थापन गर्दा सहज हुन्छ भनि बुझ्दै पनि हिडिरहेका छौं ।’ जिल्लामा १४२ वटा मतदान स्थल र ३०५ वटा मतदान केन्द्र कायम गरिएको छ । यी मतदान केन्द्रहरु अपांगतामैत्री छैनन् ।










