भानुले आगामि वर्षलाई “शैक्षिक उपलब्धि वर्ष”का रुपमा घोषणा गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बिगत दुइ वर्षको शैक्षिक कार्यक्रम तथा यसको प्रगति विवरण समीक्षा गरेको छ । नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले २५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै अगामि वर्षलाई ‘शैक्षिक उपलब्धि वर्ष’का रुपमा घोषणा गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना बनाएको बताएका छन् ।

बिगतमा कोभिड-१९ का कारण भएको शैक्षिक क्षतिलाई न्यूनिकरण गरी गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘शैक्षिक उपलब्धि वर्ष’ का रुपमा घोषणा गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने गरी नगरपालिकाले आगामी शैक्षिक योजनाहरु अगाडि ल्याएको छ ।

शिक्षा अधिकारी पौडेलका अनुसार नगरपालिकाले मागको आधारमा स्कूल बसको व्यवस्थापन गर्ने, लागत साझेदारीमा एक शिक्षक एक ल्याप्टप कार्यक्रम सञ्चालन गर्ने, विषय विज्ञ सहितको अनुगमन प्रणाली विकास गरी सघन विद्यालय निरीक्षण तथा सुपरीवेक्षण कार्यक्रम सञ्चालन गरी शिक्षकको पेशागत सहयोग तथा कक्षा अवलोकन छलफल तथा पृष्ठपोषणका साथै शैक्षिक सुशासन कायम गर्ने योजना अगाडि ल्याएको छ ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीको क्षमता अभिवृद्धि गरी उत्तरदायित्व र जवाफदेहिता वृद्धि गर्ने गराउने, भानुका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरी नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गर्ने, भानु नगर शिक्षा योजनाले निर्दिष्ट गरे बमोजिमका शैक्षिक कार्यक्रमहरु क्रमशः सञ्चालन गर्दै जाने योजना रहेको बताउँदै शिक्षा अधिकारी पौडेलले भने, ‘यी कार्यक्रम सञ्चालनका लागि शिक्षाका सबै सरोकारवाला महानुभावहरुमा रचनात्मक सहयोग तथा सिर्जनशील पृष्ठपोषणका लागि अनुरोध गर्दछौं ।’

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विगत दुइ वर्षको शैक्षिक कार्यक्रम तथा यसको प्रगति विवरणको समीक्षा गर्दै यस अवधिमा कोभिड-१९ तथा यसबाट सिर्जित लकडाउनका कारण बालबालिकाको पठनपाठन अवरुद्ध भई देशव्यापी रुपमा ठूलो शैक्षिक क्षति व्यहोर्नु परेको निष्कर्ष निकालेको छ ।

लकडाउनको अन्त भएसँगै क्रमशः दैनिक पठनपाठन तथा अन्य शैक्षिक कार्यक्रमहरु सुचारु गर्दै शाखाले भानु नगरपालिका शिक्षा ऐन २०७७ र शिक्षा नियमावली २०७८ जारी गरी आफ्नै कानूनबाट निर्देशित भई कामकाज गर्ने अवस्था सिर्जना गरेको छ ।

लामो समयदेखि थाँती रहेको दरबन्दी मिलानको कार्यक्रमलाई पूर्णरुपमा सम्पन्न गरी व्यवहारिक रुपमा कार्यान्वयन गरेको छ । यसबाट भानुमा उपलब्ध मानवीय जनशक्ति (साधन र स्रोत)को यथोचित वितरण भई धेरै हदसम्म सामाजिक न्याय प्राप्त भएको र यसै क्रममा एउटा पनि दरबन्दी नभएका माविमा एकैचोटी तीनवटासम्म दरबन्दी पुर्‍याइएको शिक्षा अधिकारी पौडेलले बताए ।

‘दरबन्दी मिलानको क्रममा खुद पुलमा रहेका शिक्षकहरुलाई व्यवस्थापन गर्न सेवा निवृत्त हुने समय पुगेका शिक्षकहरुका लागि विशेष सुविधाको प्याकेज ल्याई कुनै पनि शिक्षकलाई भानुबाट बाहिर जानु नपर्ने अवस्थाको सिर्जना गरिएको छ’, उनले भने, ‘भानु नगरपालिकाको शैक्षिक विकासको मार्गचित्रको रुपमा रहेको भानुको पञ्चवर्षीय नगर शिक्षा योजना (२०७९/०८०-२०८३/०८४) पारित भई कार्यान्वयनमा ल्याएका छौ ।’

‘भानुमा सञ्चालित सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पुर्‍याइएको छ, कक्षा १ देखि ८ सम्मका लागि ‘हाम्रो भानु’ नामक स्थानीय पाठ्यक्रम निर्माण भई लागु गरिएको छ । चालु शैक्षिक सत्रमा सो बमोजिम पाठ्यपुस्तक निर्माणको काम अघि बढेको छ’, शिक्षा अधिकारी पौडेलले भने, ‘विद्यालय समायोजन निर्देशिका बमोजिम पहिलो चरणमा न्यून विद्यार्थी संख्या भएका तीनवटा विद्यालयलाई मर्ज तथा पाँचवटा विद्यालयहरुलाई तल्लो तह कायम गरिएको छ भने दोस्रो चरणको विद्यालय मर्जिङको कार्य अघि बढेको छ ।’

संघीय शिक्षा ऐन तथा स्थानीय शिक्षा ऐन र नियमावली बमोजिम सबै तहका विद्यालयहरुमा योग्यता र मापदण्ड पुगेका शिक्षकहरुलाई प्रधानाध्यापको रुपमा जिम्मेवारी दिने नीतिगत व्यवस्थालाई पूर्णतः कार्यान्वयन गरिएको, यसबाट सिनियर शिक्षकको मातहतमा जुनियर शिक्षकले काम गर्ने पद्धतिले शिक्षकको पेशागत मर्यादा कायम भई विद्यालयमा शिक्षक कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण भएको उनले जानकारी गराए ।

विद्यालयमा शिक्षक कर्मचारी लगायतका जनशक्ति नियुक्ति तथा व्यवस्थापन गर्नका लागि शिक्षक कर्मचारी नियुक्ति तथा व्यवस्थापन सम्बन्धी नमूना कार्यविधि निर्माण गरी सहजीकरण गरिएको बताउँदै उनले भने, ‘अब प्राप्त निजी स्रोत वा अनुदानमा कुनै पनि शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा विद्यालयको आन्तरिक कार्यविधि -विनियम) निर्माण गरेर सो बमोजिम मात्र नियुक्ति र व्यवस्थापनको प्रक्रिया अघि बढ्ने परिपाटी विकास गरिएको छ ।’

भानुमा कार्यरत शिक्षक तथा कर्मचारीको अभिलेख व्यवस्थापनलाई चुस्त र अपडेट राख्ने कार्यको थालनि स्वरुप शिक्षकको व्यक्तिगत फाइल, हार्डकभर रजिष्टर तथा इ-कपि समेत राखी यसलाई व्यवस्थित गर्ने कार्यको थालनि गरिएको छ । शिक्षा शाखाको संयोजनमा प्रत्येक वर्ष शैक्षिक क्यालेण्डर निर्माण गर्ने परिपाटीलाई निरन्तरता दिइएको छ भने यसैक्रममा क्यालेण्डरका साथै महत्वपूर्ण जानकारी र सबै कक्षाको विषयगत वार्षिक पाठयोजनालाई पनि समावेश गर्ने गरिएको शिक्षा अधिकारी पौडेलले बताए ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन तथा नवआगन्तुक शिक्षकहरुलाई दिशा निर्देश गर्ने उद्देश्यले नगरपालिकाको आन्तरिक स्रोतबाट शिक्षक डायरीको निर्माण, वितरण र कार्यान्वयन गर्ने पद्धतिको शुरुवात गरिएको छ । कक्षा कोठामा जानुपूर्व सबै शिक्षकहरु पुर्ण तयारीका साथ कक्षाकोठामा जाने परिपाटीलाई कार्यान्वयन गरिएको छ ।

नेपाल सरकारले शुरुवात गरेको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि दिवा खाजाको लागि साप्ताहिक मेनु निर्माण गरिएको छ । यस बमोजिम सबै विद्यालयहरुले दैनिक खाजाको परिकार निर्माण गर्नुपर्ने निर्देश गरिनुका साथै सबै विद्यालयहरुमा खाजा निर्माणका लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सबै खाले भाँडाकुँडाको व्यवस्थापन गरिएको उनले बताए ।

कक्षा ६ देखि १२ सम्मका बालिकाहरुका लागि प्राप्त हुने निःशुल्क सेनिटरी प्याडको यथोचित प्रयोग गर्न गराउनका लागि र सोको लागि आवश्यक संयोजन र सहजीकरण गर्न प्रत्येक निमावि र माविमा एकजना महिला फोकल पर्सनको व्यवस्था गरी जिम्मेवारी दिइएको छ । साथै फोकल पर्सनहरुलाई स्वास्थ्य प्राविधिकबाट एकदिवसीय अभिमुखीकरण समेत प्रदान गरिएको छ भने, विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिइएको छ ।

भानु नगरस्तरीय परीक्षा समिति गठन गरी सबै विद्यालयहरुमा हुने परीक्षाहरु एउटै गुणस्तरीय प्रश्नपत्र मार्फत् गर्ने व्यवस्था मिलाइएको छ । यसबाट सबै विद्यालयहरुमा एकरुपता कायम हुनुका साथै मूल्याङ्कनमा विश्वसनीयता र बस्तुनिष्ठता कायम हुने नगरपालिकाले अपेक्षा गरेको शिक्षा अधिकारी पौडेलले बताए ।

सबै माविहरुमा महिला शिक्षक तथा बालिकाहरुका लागि सेनिटरी डिस्पोजल इलेक्ट्रोनिक मेशिन वितरण गरी कार्यान्वयनमा ल्याउनुका साथै यसबाट वातावरणीय स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

विद्यालय शिक्षाको जगको रुपमा रहेको बाल विकास केन्द्रलाई थप आकर्षक, स्रोतपूर्ण र सिकाइ मैत्री बनाउनका लागि केन्द्रमा बाल सिकाइ तथा खेल सामग्रीहरुको व्यवस्था गरिएको छ । सबै विद्यालयहरुमा शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि युरोगार्ड तथा फिल्टर वितरण गरिएको छ । अधिकांश माविहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधि प्रयोगशालाका कार्यक्रमहरु पुर्‍याइसकिएको छ । यसका लागि थोरै मावि मात्र बाँकी रहेको उनले बताए ।

भानुमा कोभिड-१९ का कारण रोकिएको नगरस्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितालाई हाल निरन्तरता दिइएको छ । महिला शिक्षक सुत्केरी हुँदा निजहरुले ९८ दिनसम्म सुत्केरी बिदा पाउने कानूनी व्यवस्था रहेको छ । यस अवधिमा विद्यालायको पठनपाठन अवरुद्ध हुन नदिनका लागि सो अवधिका लागि स्वयंसेवक शिक्षक परिचालन गर्ने कानूनी व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको र यो क्रम निरन्तर रुपमा अघि बढाउने योजना नगरपालिकाले बनाएको पौडेलले बताए ।

नयाँ एकीकृत पाठ्यक्रम बमोजिम कक्षा १ देखि ३ सम्मको सुधारात्मक मूल्याङ्कन प्रणाली अन्तर्गत विद्यार्थी मूल्याङ्कन अभिलेखीकरण फाराम नगरस्तरीय परीक्षा समिति मार्फत् छपाई विद्यालयमा वितरण गरिएको छ । यसको सहि रुपमा प्रयोग गर्ने प्रक्रियाका लागि पनि शिक्षकहरुलाई प्रशिक्षण दिइएको उनले बताए । भानु नगरपालिकामा युवालक्षीत कार्यक्रम नमूना युवा संसद अर्न्तर्गत पहिलो पटक नमूना नगरसभाको अभ्यास गरिएको र चालु आवमा समेत यस कार्यक्रमलाई निरन्तरता दिने योजना नगरपालिकाले बनाएको छ ।

भानुमा युवा उद्यमीहरुका लागि आइयलओ सर्टिफाइड सातदिवसीय उद्यमशिलता विकास सम्बन्धी तालिम प्रदान गरिएको र चालु आवमा समेत यसलाई निरन्तरता दिने योजना रहेको शिक्षा अधिकारी पौडेलले बताए ।

भानु नगरपालिकाको शैक्षिक विकासका लागि गरिएका यी कार्यहरु शुरुवात मात्र भएको र अझै धेरै गर्न बाँकी रहेको बताउँदै शिक्षा अधिकारी पौडेलले भने, ‘हामी यसका लागि योजनाबद्ध रुपमा अघि बढिरहेका छौं । कतिपय कार्यक्रम हामीले चाहेर मात्र नहुने र ती कार्यक्रम सञ्चालनका लागि लागि पर्याप्त बजेटको आवश्यकता पर्दछ । आगामी दिनमा सरोकारवालाहरुसँगको निरन्तर छलफल परामर्श तथा सुझाव अनुसार थप कार्यक्रम सञ्चालनका लागि हामी प्रतिवद्ध छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker