तनहुँको ऋषिङमा चियाखेती

तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रूपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ । बिरुवा रोप्नका लागि खाडल खन्ने कार्य तीव्ररूपमा भइरहेको गाउँपालिकाले जनाएको छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा यस स्थानमा चियाखेती गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।
उक्त स्थानमा चिया बगान बनाएर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना रहेको प्रवक्ता दरैले बताए । उनका अनुसार एक हजार खाडल खन्नुपर्नेमध्ये तीन दिनको अवधिमा ५० प्रतिशत बढी खाडल खन्ने कार्य सम्पन्न भएको छ ।
“चियाखेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ” उनले भने, ‘अहिले परीक्षणका रूपमा लगाउन लागिएको हो । इलामबाट चियाका बिरुवा मगाइएको छ । प्रति बिरुवा रु दश पर्ने भए पनि लामो दूरीबाट ल्याउनुपर्ने भएकाले ढुवानीमा कठिनाइ भएको छ । बिरुवा ल्याएको तीन दिनभित्र लगाइसक्नुपर्ने भएकाले त्यसका लागि अग्रिम खाडल खन्ने कार्य भरहेको छ ।”
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । “इलामबाट एक÷दुई दिनमा बिरुवा आइपुग्छ होला अनि धमाधम बिरुवा रोप्ने काम सुरु गरिनेछ”, उनले बताए ।
“एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने रहेछ”, उनले भने, “गाउँपालिकाले थालेको यस अभियानमा कतिपय स्थानीय मानिस स्वतस्र्फूत श्रमदानमा खटिएका छन् । स्थानीयको सक्रियताले गाउँपालिकालाई थप ऊर्जा मिलेको छ ।”
पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि गाउँपालिकाले यस स्थानमा घरबास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।










