बजेटको कामलाई लक्षित गर्दै व्यास नगरपालिकाको मुख्य र वडा कार्यालय खुल्ने
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले आईतबारबाट व्यास नगरपालिकाको मुख्य र वडाका कार्यालयहरु खुल्ला गर्ने भएका छन् । कोभिड संक्रमण बढ्दै गएको भन्दै नगरपालिकाले गत वैशाख २६ बाट नै मुख्य र वडा कार्यालयहरु बन्द गरी अत्यावश्यक सेवा मात्र प्रवाह गरेको थियो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामि आर्थिक वर्षो बजेट तयारीका लागि भन्दै कार्यालय खुल्ला गर्ने निर्णय गरेको नगरपालिका कार्यालयका प्रवक्ता मेघनाथ आचार्यले बताए । उनका अनुसार अब सिमित कर्मचारी सहित कार्यालय खोलिने र २०७८/०७९ को नीति तथा कार्यक्रमका बजेट तर्जुमा लगायत कार्यालयका आन्तरिक कार्यहरु सञ्चालन गरिने बताएका छन् ।
बैठकले नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु मार्फ पि.सि.आर तथा एन्टिजेन गरिएका व्यक्तिहरुको विवरण तथा परीक्षणको नतिजा समयमा नआउँदा रोकथाम र उपचारमा समस्या परेको भन्दै नाम ठेगानासहितको विवरणसँगै पि.सि.आर तथा एन्टिजेनको नतिजा प्रष्ट रुपमा खुल्ने गरी नगरपालिकालाई समयमा नै उपलब्ध गराउन अनुरोध गरिएको छ ।










