दूरगामी महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई आग्रह
भञ्ज्याङ समाचारदाता/कास्की

माओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकार काम चलाउ सरकारमा परिणत भएको भन्दै दीर्घकालीन असरपर्ने निर्णय नगर्न आग्रह गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिइन् ।
वैठकले तीन बुँदे निर्णय गर्दै कामचलाउ सरकार भईसकेको अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र त्यस्ता कुनै पनि काम कारबाही नगर्न सरकारलाई सचेत गराउने निर्णय गरेको छ । केन्द्रीय गठबन्धनमा फागुन २१ गतेबाट आएको फेरबदलको प्रभाव गण्डकी प्रदेश सरकारको गठबन्धनमा समेत परेको छ ।
‘फागुन २२ गते हाम्रो दलको तर्फबाट सरकारमा सहभागी दुवै जना मन्त्रीलाई बर्खास्त गरिएको छ । त्यसको भोलिपल्ट फागुन २३ गते गण्डकी प्रदेश सरकारलाई हाम्रो दलको तर्फबाट दिएको र्समर्थन फिर्ता लिइएको छ ।’
हाल गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ र यो कामचलाउ सरकारमा परिणत भइसकेको छ । ‘यस्तो परिस्थितिमा प्रदेश सरकार निर्माण प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागी सहयोग र समर्थन गर्न हाम्रो दलको तर्फबाट राजनीतिक दल लगायत सवैमा आहृवान गर्ने निर्णय गरियो’ विज्ञप्तिमा भनिएको छ ।
परिवर्तित नयाँ परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्न दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिने निर्णय गरिएको उनले बताइन् । बैठक दलका नेता चुमानको अध्यक्षतामा बसेको थियो ।