गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीन मन्त्रीको सपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो ।

विनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, सीताकुमारी सुन्दास र पञ्चराम गुरुङले सपथ ग्रहण गर्नुभएको हो । चुमान नेकपा (माओवादी केन्द्र), सुन्दास नेकपा (एमाले) र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि आजै प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री अधिकारीलाई प्रदेशसभा कूल ६० सदस्यमध्ये सत्ता गठबन्धनका ३२ सहित एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा कास्की–१ (१) बाट निर्वाचित हुनुभएको थियो ।

विसं २०७४ मा कास्की–१ बाट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो ।

विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो ।

उहाँ पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा हुँदा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो ।

मुख्यमन्त्रीमा नियक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफ्नासामु असाधारण जिम्मेवारी आएको बताउनुभयो । सबै राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्दै अगाडि मुख्यमन्त्री अधिकारीको भनाइ छ । उहाँले समुन्नत गण्डकीको लक्ष्य साकार पार्न सङ्घ र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker