संघीयसंगै प्रदेशसभाको निर्वाचनमा पनि उत्तिकै चासो

भञ्ज्याङ समाचारदाता/दमौली

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अब केही दिन मात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने आज राती १२ बजेसम्म बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।

संघीय निर्वाचन क्षेत्रमा बढी चर्चा हुँदा प्रदेशसभाका उम्मेदवार ओझेलमा परेका छन् । संघीयतालाई मजबुद बनाउने आधार प्रदेशसभा क्षेत्रको चर्चा कम हुने गरेपनि प्रदेशको भूमिका उत्तिकै महत्वपूर्ण छ । तनहुँका चार प्रदेशसभा क्षेत्रमा २९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ १ को प्रदेश (१) मा ११ र प्रदेश (२) का लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । तनहुँ २ को प्रदेश (१) मा आठ र प्रदेश (२) मा छ जनाको उम्मेदवारी दर्ता भएको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी)ले तनहुँ १ प्रदेश १ मा उम्मेदवारी कायमै राखेर अन्य तीन प्रदेशसभा क्षेत्रमा उम्मेदवारी निष्त्रिmय गराएको छ ।

तनहुँ क्षेत्र नं १ प्रदेश १ तर्फ वाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा (एमाले) का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मंगोल नेशनल अर्गनाइजेशनका भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मंगोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी)का कलिला खातुन, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं २ प्रदेश १ तर्फ वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा (एकीकृत समाजवादी) का दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं २ प्रदेश २ तर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, नेकपा (एमाले) का केदार सिग्देल, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा (एकीकृत समाजवादी) का प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राइ, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

तनहुँ १ प्रदेश १ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (एमाले)का रामबहादुर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गुरुङ दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । प्रदेश २ मा वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का केन्द्रका हरिबहादुर चुमान र नेकपा (एमाले)का पूर्णबहादुर गुरुङबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गुरुङ हालैमात्र नेपाली कांग्रेसबाट नेकपा (एमाले) प्रवेश गरेका हुन भने चुमान दोश्रो पटक चुनावी मैदानमा आएका हुन् । तनहुँ २ प्रदेश १ मा वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र नेकपा (एमाले) का श्यामराजा महतबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश २ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जीतप्रकाश आले र नेकपा -एमाले) का केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ ।

तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले गाउँनगरको विकास मुख्य एजेण्डा रहेको बताउँदै भने, ‘यस क्षेत्रका धार्मिक, ऐतिहासिकस्थलको विकास गर्दै तनहुँलाई नमूना जिल्ला बनाउने लक्ष्यमा कार्ययोजना सहित लागिपर्नेछ ।’

एमालेका उम्मेदवार रामबहादुर गुरुङले आफूले सुरु गरेका विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्नु मुख्य एजेण्ड रहेको बताएका छन । तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न, जनजीविकाका मुद्दालाई प्राथमिकता दिन उम्मेदवारी दिएको बताउनुभयो । एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङले कृषि, पर्यटन, पूर्वाधार तथा शिक्षा र स्वास्थ्यको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता रहेको बताएका छन् ।

तनहुँ २ प्रदेश १ का उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेले समाजवाद उन्मुख समृद्ध योजना मुख्य उद्देश्य रहेको बताए । एमालेका उम्मेदवार श्यामराजा महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरको रूपमा विकास गर्ने योजना रहेको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ अन्तर्गत व्यास नगरपालिका-२, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिका पर्दछन् । प्रदेश २ अन्तर्गत व्यास नगरपालिका-१, १२, १३, १४ तथा बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन् । तनहुँ २ प्रदेश १ अन्तर्गत व्यास नगरपालिका-५ र ६ तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका पर्दछन् । तनहुँ २ प्रदेश २ अन्तर्गत ऋषिङ, घिरिङ गाउँपालिका र भिमाद नगरपालिका पर्दछन् ।

विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) र नेकपा 9माओवादी) केन्द्रको गठबन्धन हुँदा तनहुँ क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा नेकपा (एमाले) ले जितेको थियो । त्यस्तै नेकपा (एमाले)ले तनहुँ १ को प्रदेश १ र तनहुँ २ को प्रदेश २ मा जित हासिल गरेको थियो । नेकपा (माओवादी) केन्द्रले तनहुँ १ को प्रदेश २ र तनहुँ २ को प्रदेश १ जितेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker