उपनिर्वाचनका उम्मेदवारको नाम चर्चासंगै तनहुँको राजनीति तरङ्गित

सविन लामिछाने/भञ्ज्याङ

नेपाली काँगे्रस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँको राजनीति तरङ्गित भएको छ । तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यस क्षेत्रमा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनको मनोनयन दर्ताको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसले नेता गोविन्द भट्टराइलाई उम्मेदवार बनाउने निर्णयसँगै कांग्रेस परित्याग गरेर स्वतन्त्र पार्टीबाट वाग्ले उम्मेदवार बन्ने चर्चाका कारण पनि तनहुँको राजनीति तरङ्गित बन्न पुगेको छ ।

स्वतन्त्र पार्टीले विहीबार जारी गरेको विज्ञप्ति अनुसार तनहुँ १ मा स्वर्णिम सहित तीन जनाको नाम रहेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा स्वर्णिम, सांसद शिशिर खनाल, जिल्ला सभापति विकास सिग्देलले तनहुँ क्षेत्र नं. १ को विभिन्न स्थानमा आएर यहाँको वस्तुस्थिति अध्ययन गरेर शुक्रबार विहान काठमाडौं फर्किएका छन् । आज बस्ने पार्टीको वैठकले उम्मेदवार टुङ्गो लगाउने बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘हामीले उक्त क्षेत्रमा आएर त्यहाँको वस्तुस्थिति बुझ्दै गर्दा जिल्लाको धेरै विषय फेला परेको छ, त्यहाँको समस्यालाई हामीले संकलन गरेका छौं ।’

वाग्लेलाई उम्मेदवार बनाउने विषयमा उनले वाग्लेलाई उम्मेदवार बनाउँदा लोकतान्त्रिक समुहको सहयोग पाईने भएकाले उहाँलाई नै उठाउने पार्टीले निर्णय गर्ने बताए । उनका अनुसार जिल्लामा रहेको धेरै राजनीतिक व्यक्तिसंग भेटघाट गर्दा मनोनयन दर्ताको दिन पार्टी प्रवेश गर्ने तयारीमा रहेको समेत उनले बताए ।

गएको मंसिरको निर्वाचनमा बागी उम्मेदवारी दिएका नेताहरु स्वतन्त्र पार्टी प्रवेश गर्ने तयारीमा रहेको बताईएको छ । पार्टीका जिल्ला सभापति समेत रहेका सिग्देल मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेर सो क्षेत्रमा ६ हजार ३ सय मत ल्याएका थिए। रास्वपले सो क्षेत्रमा समानुपातिक मत भने १२ हजार कटाएको थियो ।

भट्टराइ र वाग्लेको चर्चाबीच नेकपा एमालेले पनि बलियो उम्मेदवार उठाउने तयारीमा छ । बिहीबार नेकपा एमाले तनहुँको पार्टी कार्यालयमा बसेको बैठकमा पूर्वआईजीपी र्सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको थियो । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन ।

गुरुङले आफु क्षेत्र छाडेर चुनाव नलड्ने बताएपछि एमालेले पूर्वआईजीपी खनाललाई उठाउने तयारी गरेको छ । गुरुङ यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर नेपाली काँगे्रसका शंकर भण्डारीसँग पराजित भएका थिए ।

नेकपा एमालेको क्षेत्रीय कमिटीबाट आकांक्षी उम्मेदवारको लागि सिफारिस गरिएका ६ जना मध्ये पूर्व आईजीपी खनाल बलियो उम्मेदवारको रुपमा लिईएको एमालेका नेताहरु बताउछन् ।

एमाले जिल्ला सदस्य वसुन्धरा घर्तीले भनिन्, ‘खनालले केन्द्र देखिनै टिकटको लबिङ्ग गर्नुभएको छ । आज बिहानपनि जिल्लाको सचिवालयको बैठक बसेर आकांशी उम्मदेवारको नाम संघको लागि सिफारिस गर्ने तयारी गरिएको छ।’

व्यास नगरपालिका-११ तनहुँसुर जन्मथलो भएका खनालको ४ मंसिरको चुनावमा पनि एमालेबाट उम्मेदवार हुने चर्चा थियो । तर, एमालेले एकबहादुर रानालाई उम्मेदवार बनायो भने खनाल काठमाडौं ६ बाट उम्मेदवार बने । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुँदा र्सर्वेन्द्र पराजित भएका थिए ।

यता सत्तारुढ दलकै नेकपा समाजवादीले भने पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीका अनुसार श्रेष्ठलाई सर्वसम्मत रुपमा उठाउने निर्णय गरिएको बताए । उनले भने, ‘हाम्रो स्पष्ट धारणा छ, गएको निर्वाचनमा तनहुँको दुइ क्षेत्र र प्रदेशको ४ क्षेत्रमा हामीले केही पाएनौं, सत्तारुढलाई जिताउनको लागि सहयोगमात्र गदैं हिडेयौं । त्यसैले यसपटक हामीले पाउनुपर्छ भनेर माग गरेका थियौं, सुनवाई नभएको कारण एकलै निर्वाचनमा जाने तयारी गरेका छौं ।’

तनहुँ १, चितवन २ र बारा २ मा हुने उपचुनावमा ३ लाख ५३ हजार २४८ जना मतदाताले भोट हाल्दै छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको विवरण अनुसार मंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा १८५ मतदाता घटेका छन् । यहाँ १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker