जिसस तनहुँको प्रमुखमा कांग्रेसका वाग्ले र उपप्रमुखमा माओवादीका थापा निर्वाचित
भञ्ज्याङ न्यूज

जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शान्तिरमण वाग्ले निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वासुदेव थापा निर्वाचित भएका छन् ।
समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्र बीच गठबन्धन गरी उम्मेदवारी दिएका थिए ।
समन्वय समितिको प्रमुखमा वाग्लेको मात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भए । समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली काग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित भएका हुन् । वाग्ले व्यास नगरपालिका-३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै, उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका थापा पनि निर्विरोध निर्वाचित भएका हुन् । थापा आँबुखैरेनी गाउँपालिका-२ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
जिसस निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा -माओवादी) केन्द्रबीच सहकार्य गर्ने सहमति बमोजिम सदस्यमा कांग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा -एमाले)ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट भानु नगरपालिका-१३ का चिरञ्जीवि ढकाल, आँबुखैरेनी गाउँपालिका-४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका-२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका-१० का तिलादेवी राना र म्याग्दे-४ का डोलबहादुर सुनारको उम्मेदवारी दर्ता भएको छ ।
माओवादीका तर्फबाट सदस्यमा शुक्लागण्डकी नगरपालिका-११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दिपुरकी लक्ष्मी गुरुङको उम्मेदवारी दर्ता भएकोमा सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।










