भाषण तथा उद्घोषण तालिम सञ्चालन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले प्रभावकारी भाषण तथा उद्घोषण तालिम सञ्चालन गरेको छ । महिला उद्यमीको नेतृत्व एवं क्षमता विकास लक्षित तालिमको शुभारम्भ गर्दै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको नेतृत्व एवं क्षमता विकासले महिलाहरुलाई अगाडि बढ्न टेवा पुग्ने बताइन ।
‘तालिमले स्वयं महिलाको मात्र नभएर टोल, समाज, वडा, पालिकाका साथै राष्ट्रको समेत समग्र क्षेत्रको विकासमा सघाउने छ’, उनले भनिन्, ‘समाजमा महिलाको सीप र खुबिलाई समाज, संगठन र संस्थाले सहजै स्वीकार नगर्ने प्रवृत्ति कायमै रहेको छ ।’
महिलाको नेतृत्व र नियन्त्रणलाई पितृसत्ता तथा पुरुषले सहजै स्वीकार गर्ने वातावरण तयार पार्नु आजको आवश्यकता रहेको बताउँदै दरैले भनिन्, ‘महिलाले पुरुषसरह सबै क्षेत्रमा कार्यसम्पादन गर्न सक्ने अवस्था रहँदारहँदै पनि विभिन्न कारण देखाइ नीति निर्माण तहमा महिलाको सहभागिता कम गराउने परिपाटी अन्त्य हुनु पर्दछ ।’
महिला उद्यमी विकास समितिका सभापति सकुन्तला आलेको सभापतित्वमा आयोजित कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का वडाध्यक्ष काशीराम श्रेष्ठले नेतृत्व बिकास तालिमले घर परिवार देखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताए । श्रेष्ठले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा ल्याउन सहभागिहरूलाई आग्रह गरे ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, सातवटै बजार इकाइका सभापतिको तर्फबाट थर्पु बजार इकाइका सभापति भिम कुमार श्रेष्ठ, महिला उद्यमी संघ नेपाल तनहुँका अध्यक्ष निर्मला मल्ल, महिला उद्यमी समिति तनहुँकी पूर्व अध्यक्ष सरस्वती न्यौपाने लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
पाँच दिनसम्म चल्ने उक्त तालिममा महिला उद्यमी विकास समितिका सभापति सकुन्तला आले र महिला उद्यमी संघ नेपाल तनहुँका अध्यक्ष निर्मला मल्लले आफ्ना अनुभवहरु राख्दै महिलाको नेतृत्वले कुनै पनि संघ संस्थालाई सफल बनाउने दावी गरे ।










