तनहुँको गुणादीमा बेवारिसे नवजात शिशु भेटियो
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा एक नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पुलामी होटल नजिकै झाँडीमा बच्चा रोएको आवाज सनेपछि स्थानीय हेर्न जाँदा नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको हो ।
झाँडीमा बेवारिसे अवस्थामा भेटिएको शिशुलाई प्रहरीले दमौली अस्पतालमा लगेपछि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसेनाले जानकारी दिए । अबैधानिक रुपमा बच्चा जन्माएर फ्याँकिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। बच्चाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
शिशुको शरीरमा काँडा बिझेको अवस्थामा भेटिएकोले काँडा निकालेर अक्सिजन र तातो बनाउने कार्य भैरहेको दमौली अस्पतालले जनाएको छ । पुरुष शिशुको तौल जम्मा १ किलो ६ सय ग्राम रहेको र दाँहिने नाँकमा हल्लाका लछारिएको, बायाँ आँखा नजिक हल्का सुनिएको अवस्था रहेको बताइएको छ ।
कम तौलको शिशु जन्मिएकोले यस्ता शिशुलाई बचाउन गाह्रो हुने दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए। शिशुको हालको अवस्था मध्यम रहेकोले अस्पतालबाट हुनेसम्म कोशिस भैरहेको डा. पौड्यालले बताए ।










