व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई : नगरबासीको गुनासैगुनासा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बुधबार नगरपालिकाको प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक भित्र नगरपालिकाबाट प्रवाह गरिएको सेवाको सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागिहरुले नगरपालिकासंगै गुनासैगुनासा पोखेका छन् ।
कार्यक्रममा सहभागि वडा नं. ५ का नवराज न्यौपानेले सिंचाइको अभावले खेतबारी बाँझो राख्न बाँध्य भएका किसानहरुले नदीको पानी लिफि्टङ गरी सिंचाई सुविधा उपलब्ध गराउन नगरपालिकाले कुनै योजना बनाएको छ कि छैन ? भन्दै प्रश्न गरेका थिए ।
‘खेतबारी तलबाट मादी नदी बगिरहेको छ । हामी गाउँमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्नेहरु सिंचाइको अभावले खेतबारी बाँझै राख्नुपर्ने बाँध्यता छ’, किसान न्यौपानेले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई पनि प्राथमिकता दिंदै मादी नदिबाट लिफि्टङ प्रविधिबाट सिंचाइको व्यवस्थापन गरिदिए गरिखाने मजस्ता किसानलाई राहत हुने थियो ।’

बजारमा पाउने उन्नत जातका बिउविजन पनि अनुदानमा उपलब्ध गराउन र किसानले उत्पादन गरेका कृषि उपजको उचित मुल्यमा बजारीकरण गरिदिने व्यवस्थापन मिलाउने तर्फ नगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए । न्यौपानले भने, ‘हामीले उत्पादन गरेका कतिपय कृषि उपजहरुले उचित मूल्य र बजार नपाउँदा कृषि पेशाप्रति नैराश्यता छाएको छ ।’
न्यौपानले नगरपालिका बजार केन्द्रित भएको अरोप लगाए । उनले गाउँका बासिन्दालाई पनि बजारका नागरिकले सरह गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको व्यवस्थापन लगायतका क्षेत्रमा प्राथमिकताका साथ ध्यान दिन नगरप्रमुख समक्ष आग्रह गरे ।
यस्तै, वडा नं. १० का सोमकान्त सुवेदीले जग्गा नाप्नाका लागि नगरपालिकाबाट लगिएका अमिनले मनलाग्दी अतिरिक्त शुल्क लिएको बताए । उनले भने, ‘नगरपालिकाबाट जग्गा नाप्न भनि लगिएका अमिनले नक्सा छुनेबित्तिकै ४ हजार रुपैयाँ शुल्क लिन्छन् । यो नियमसंगत हो कि के हो ?’
‘नगरपालिकाबाट सेवा प्रवाह गरिरहदा कर्मचारीले कतै बढि शुल्क लिएका छन् कि छैनन्, सेवाग्राहीले सहज रुपमा सेवासुविधा पाएका छन् कि छैनन् भन्ने विषयमा नरपालिकाबाट अनुगमन नभएको पाइयो’, उनले भने, ‘नगरपालिकाभित्रै चल्ने ट्याप्पोले पनि मनलाग्दी भाँडा लिने गर्छन् । यसको कस्ले नियमन र अनुगमन गर्ने हो ?’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिवलय सदस्य मंगलप्रसाद श्रेष्ठले योजना सम्झौता भएर काम सम्पन्न भएपछि भुक्तानी दिन ढिलाई गरिएको, सरसफाइको लागि शुल्क लिएपनि दमौलीको सफासडक बाहेक अन्य चोकमा सरसफाई नभएको गुनासो गर्दै नगरप्रमुख कार्यकक्षमा बसि कार्यसम्पादन भन्दा बढि उद्घाटन र कार्यक्रममा व्यस्त हुने गरेको बताए ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले नगरपालिकासमक्ष विभिन्न जिज्ञासा र नगरपालिकाले गरेको कामप्रति प्रश्न र सुझाव समेत दिएका थिए । नगरपालिकाकी स्वयंसेविका मायादेवि सोतीले सुत्केरी र स्वयंसेवकले पनि नगरपालिकाबाट पाउनुपर्ने अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्मको पोषण भत्ता/कर्मचारी भत्ता नपाएको हुँदा सो को व्यवस्थापन गर्न आग्रह गरिन । त्यस्तै, नगरपालिकाको वडादेखि प्रशासकीय भवनमा महिला कर्मचारी पनि भएकाले सेनिटरी प्याडको निःशुल्क व्यवस्थापन गर्न सुझाव दिएकी थिइन् ।
यसै सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नगरपालिकाबाट पोषण भत्ता व्यवस्थापन भईसकेको र चाडैन उपलब्ध गराउने बताए । उनल भने, ‘निःशुल्क सेनिटरी प्याड व्यवस्थापनको छलफल पनि भईरहेको छ र चाडैन यसको पनि व्यवस्थापन गर्ने छौं।’

यस्तै, अत्यावश्यक आधारभुत सेवाहरु नगरबासीलाई सहज रुपमा उपलब्ध गराउन नगरपालिका लागिपरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले ७० वर्ष कटेका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताए ।
‘मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने फोहोर व्यवस्थापनमा पनि हामी लागिपरेका छौं’, उनले भने, ‘अहिले हामीले खाल्डो खोज्दै हिड्ने भन्दा फोहोरलाई आम्दानीसंग परिवर्तन गर्नेतर्फ लागिपरेका छौं ।’
नगरपालिकाले ल्याण्डफिल्ड साइट अध्यायन भ्रमणका नाममा करिव २ लाख २० हजार र ल्याण्डफिल्ड साइट र ट्रस्ट निर्माण भनि करिव ९ लाख रुपैयाँ खर्च गरिसकेको छ । तर, हालसम्म व्यवस्थित ल्याण्डफिल्डका लागि आवश्यक जग्गा पहिचान समेत गर्न सकेको छैन ।
नगरपालिकाभित्र व्यवस्थित र स्थायी ल्याण्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाई शाखाका कार्मचारीहरु संयुक्त रुपमा ३ पटक विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि गए । तर हालसम्म पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा ५ वर्षको अवधिमा फोहोर व्यवस्थापनका लागि ३ वटा ठाउँ फेरिसकेको छ ।










