एमालेको ‘मिसन ग्रासरूट’ अभियान : पार्टीका गतिविधिलाई गाउँ, वडा, टोलसम्म पुर्याइने
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुइ महिने वैचारिक तथा सांगठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत तनहुँमा अभिमुखीकरण लगायतका गतिविधि सञ्चालन गरेको छ ।
निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पूर्ण बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरसम्म खटाएको छ । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुइ महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्ने भएका छन् ।
नेकपा -एमाले) प्रचार विभाग तनहुँले बिहीवार दमौलीमा पत्रकार सम्मेलन गरी पार्टीका गतिविधिलाई गाउँ, वडा टोलसम्म पुर्याउन ग्रासरुट अभियान सुरु गरिएको बताएका छन् । बैशाख १० गतेसम्म पार्टीका केन्द्रीय प्रतिनिधि, प्रदेश र जिल्लाका प्रतिनिधि सहितले जनताको घर दैलोमा पुगि पार्टीलाई व्यवस्थित, विस्तार र संगठित बनाउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यले ग्रासरुट अभियान थालिएको पार्टीका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले बताए ।
संगठन बलियो बनाउने, पार्टी सदस्यता नवीकरण, मोर्चा कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझने, पार्टी भित्रको अन्तरविरोध बुझने र त्यसलाई हल गर्ने सहितको कार्यक्रम सञ्चालन गर्न यो अभियान सार्थक हुने अधिकारीले बताए ।
अभियान अन्तर्गत पहिलो चरणमा पार्टीका जिल्ला कमिटीका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको बताउँदै अधिकारीले फागुन १९ गतेदेखि पालिका तहको अभिमुखीकरण तथा बैठक गरिने बताए । केन्द्रीय कमिटीले तोकेको प्रतिनिधिका साथ प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले विभिन्न पालिका वडा र टोलमा पुगि दुइ महिनासम्म कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरी कार्यबिभाजन समेत गरिएको अधिकारीले बताए ।
सो क्रममा पार्टीका सदस्यहरुलाई वैचारिक नीति तथा सिद्धान्तबारे जानकारी गराउने र समाजमा रहेका विभिन्न बौद्धिक वर्गहरुसँग अन्तरक्रिया गरी पार्टीमा देखिएका समस्या र पार्टीका भावि कार्यदिशाबारे राय संकलन समेत गरिनेछ । सोही अवसरमा पार्टी कार्यकर्ताबीचको असझदारी र अन्तरविवादका सम्बन्धमा छलफल गरी समाधानको पहल गरी पार्टीलाई सुदृढ बनाउने, पार्टी र जनप्रतिनिधिबीचका समस्या, जनतासँग सरोकार राख्ने विषयहरु उजागर गर्ने सम्बन्धमा जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिने लगायतका गतिविधि समेत सञ्चालन हुने एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताए ।
पार्टीका सांगठनिक रुवरुप र बैचारिक रुपमा पार्टी कमजोर भएको महसुस गरी सुधारका निम्ति अभियान थालिएको बताउँदै उनले भने, ‘अबको जिम्मेवारी पार्टीलाई जनतामाझ लोकप्रिय बनाउनु हो, यसका लागि हामी पार्टीलाई सबैभन्दा तल्लो तहमा पुर्याएर वैचारिक र सैद्धान्तिक हिसाबले बहस गर्न चाहन्छौं, त्यो अभियानमा हामी लागेका छौं ।’
मुलधारको राजनीत्रि्रति पछिल्लो पुस्तामा पैदा भएको वितृष्णालाई चिर्दै पार्टीमा युवाहरुको आकर्षण बढाउन पनि यो अभियान उपलब्धी मुलक बन्न उपाध्यक्ष कडेलले विश्वास व्यक्त गरे । पार्टीमा नीति, सिद्धान्त र विचार भन्दा बाहिर गएर काम गर्ने प्रवृत्ति पनि बढेकाले त्यसलाई निरुत्साहित गरी वैचारिक र सैद्धान्तिक हिसाबले पार्टीलाई बलियो बनाउन पनि अभियान सफल हुने पार्टी सचिव राजेश्वर ढकालले बताए ।
अभियानका लागि जिल्ला कमिटीका १२३ जना सदस्यलाई वडा इन्चार्जको रुपमा खटाइएको ढकालले जानकारी दिए । जनताका माझका अन्तर विवादका विषय खुलेर बाहिर आहोस् भन्ने उद्देश्यले पालिका अन्तर्गतका इन्चार्जलाई त्यही पालिकामा भन्दा पनि फरक पालिकामा खटाइएको समेत उनले जानकारी गराए । ग्रासरुट अभियानका लागि तनहुँमा केन्द्रीय समितिको तर्फबाट विद्या भट्टराइ, सिमा क्षेत्री, बाल सिहं मगर, कृष्णप्रसाद पौडेल लगायतलाई खट्टएिको बताइएको छ ।










