सबैको लघुबित्तको चौथो साधारणसभा सम्पन्न
भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुबित्त बित्तीय संस्थाले चौथो साधारण सभा गरेको छ । संस्थाका संचालक समिति अध्यक्ष सृजना जोशीको अध्यक्षतामा आयोजित सभामा आर्थिक वर्ष २०७६/०७७ को बाषिर्क प्रतवेदन पेश गरेकोमा प्रतिवेदन सहित थियो । यस बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन परीक्षण प्रतिवेदन सहितको ०७७ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान तथा सोही अवधिमा भएको नाफा नोक्सान बाडफाड हिसाव तथा नगद प्रवाह विवरण पारित गरेको थियो ।
वित्तीय विवरणहरु सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वित्तीय संस्थाको २०७७ असार मसान्तसम्म चुक्ता पूँजी रु १८ करोड ६४ लाख ५० हजारको ०.५५ प्रतिशतले हुन १० लाख ३० हजार ३ सय ८१ रुपैयाँ ५८ पैसा नगद लाभांश बोनस सेयरमा लाग्ने कर वापतको रकम पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको बताइएको छ ।
यसैगरी लेखापरीक्षण समितिबाट सिफारिस भएको एन के जोशी एण्ड कम्पनी चार्टर एकाउण्टेण्टलाई लेखापरीक्षक नियुक्त समेत गरेको छ । यस्तै विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको अधिकृत पुँजी रु २० करोडबाट वृद्धि गरी रु ५० करोड जारी तथा चुक्ता पूँजी रु २० करोड ६० लाख २७ हजार २५० पुर्याउने वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्ने निर्देशन भएमा आवश्यकता अनुसार थपघट परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण रुपमा अख्तियारी दिने निर्णय सभाले गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा मर्जर वा एक्विजिशन गर्ने वा शाखा खरिद तथा आवश्यक खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि वढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरू सबै समितिबाट पारित गरिएको सञ्चालक श्याम प्रसाद श्रेष्ठले जानकारी गराए ।
देशभर सेवा दिने अनुमति लिएर लघुबित्तीय संस्थाहरुको भिडमा छोटो समयमा पनि राम्रो नाफा आर्जन गर्न सफल भएको यस बित्तीय संस्थाले हाल ३७ वटा जिल्लाबाट सेवा दिई रहेको छ । संस्थाको जम्मा ४६ हजार ८२३ ग्राहक रहेको, जम्मा लगानी रु २ अर्ब ८१ करोड ५२ लाख ६२ हजार रहेकोे, निक्षेपमा जम्मा रु ७७ करोड ७६ लाख ९१ हजार गरेको संस्थाका प्रबन्धक गङ्गापाल चौधरीले बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) विरुद्ध प्रतिकार्यका लागि संस्थाले समाजिक उत्तरदायित्व वहन गर्दै गत वर्ष बन्दिपुर गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण राहत कोषमा नगद रु ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो।










