नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक

गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कांस्य पदक जितेको हो ।

गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको थिएन । गण्डकी प्रदेशले यसपटक ऐतिहासिक कीर्तिमान कायम गरी पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ दुवै खेल जित्दै गण्डकीले दुई कांस्य पदक जितेको हो । तेस्रो स्थानका लागि गण्डकी प्रदेशले फाइभ अन फाइभमा सुदूरपश्चिम प्रदेश र थ्री बाइ थ्रीमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो ।

फाइभ अन फाइभमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको थियो । गण्डकीले पहिलो क्वाटरमा १६–९, दोस्रो क्वाटरमा १०–४, तेस्रो क्वाटरमा १२–७ र चौथो क्वाटरमा ८–४ अङ्क जोडेको थियो ।

गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोड्नुभएको थियो । थ्री बाइ थ्रीमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मकरूपमा भएको खेलमा गण्डकीले बागमतीलाई पराजित ग¥यो ।

असोज २८ गतेदेखि सुरु महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।

महिला बास्केटबलमा छ पदकको टुङ्गो

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा सम्पन्न महिला बास्केटबलमा छ पदकको टुङ्गो लागेको छ । असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सम्पन्न बास्केटबलको फाइभ अन फाइभमा तीन र थ्री बाइ थ्रीमा तीन पदकको टुङ्गो लागेको हो ।

महिला बास्केटबलको फाइभ अन फाइभमा एक विभागीय र पाँच प्रदेश गरी छ टोलीको सहभागिता रहेको थियो । थ्री बाइ थ्रीमा दुई विभागीय र छ प्रदेशसहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दुवैतर्फ गरी त्रिभुवन आर्मी क्लबले एक स्वर्णसहित दुई, सशस्त्र प्रहरीले एक स्वर्ण, बागमती प्रदेशले एक रजत र गण्डकी प्रदेशले दुई कांस्य पदक जितेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइभ अन फाइभमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । बागमती प्रदेशले रजत पदक जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ । थ्री बाइ थ्रीतर्फ सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker