स्वास्थ्य कार्यालय तनहुँद्वारा सुत्केरीलाई पोषण खर्च वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो ।

लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार सुत्केरीलाई एकमुष्ठ रु नौ हजार प्रदान गरिनेछ ।

कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । “चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि सुत्केरी भएका महिलालाई उक्त रकम प्रदान गरिने छ, त्यसका लागि दश वटै स्थानीय तहसँग विवरण माग गरेका छौँ”, उनले बताए ।

उनले भने, ‘अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख सुत्केरी आमा पोषिलो खाना कार्यक्रममार्फत रकम उपलब्ध गराउन लागिएको हो । अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायको वर्गमा पर्ने सुत्केरी आमा हुनुपर्ने र त्यसको पहिचान सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नुपर्ने हुन्छ ।’

गर्भपतन गराएकाको हकमा पोषण खर्च उपलब्ध नगराइने जनाइएको छ । आवश्यक कागजात संकलन गरी स्वास्थ्य संस्थाले वडाको सिफारिस साथ नगरपालिका, गाउँपालिकाको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउने र स्वास्थ्य शाखाले एकमुष्ठ विवरण तयार गरी रकम भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गर्राई स्वास्थ्य कार्यालयमा सिफारिस सहित विवरण उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

यो रकम लिनका लागि सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने आधिकारिक सरकारी कागजातको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सुत्केरीको नाममा खोलिएको बैंक खताको चेकको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कार्यालयले जनाएको छ ।

यसैबीच व्यास नगरपालिका-९ स्थित गजुरे स्वास्थ्यचौकीबाट प्रसूति सेवा लिएकालाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत प्रोत्साहन उपलब्ध गराउने नीतिबमोजिम उनीहरुलाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको हो ।

चालु आवमा उक्त स्वास्थ्यचौकीबाट ११ जनाले प्रसूति सेवा लिएका छन् । उनीहरुलाई जनही रु दुइ हजारका दरले यातायात खर्च र रु आठ सयका दरले उत्प्रेरणा खर्च उपलब्ध गराइएको चौकीका प्रमुख देविन्द्र कार्कीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker