कलेस्ती उपत्यकामा कृषि क्रान्ति : सहकारी र समुहमा आवद्ध भई व्यवसायिक रुपमा कृषि कर्म

सुनिता आचार्य/तनहुँ

तनहुँको व्यास नगरपालिकाको वडा नं. ९ को कलेस्ती उपत्यका कृषिका लागि उर्वर भूमि हो । सिंचाई र मलिलो माटोका कारण यहाँका खेतमा हिउँद वर्खै मौसमी तथा वेमौसमी खेती गर्न सकिन्छ । केही वर्ष अघिसम्म हिउँदका समय अधिकांश खेत बाँझै रहने कलेस्ती फाँट अहिले हरियाली देखिने गरेको छ ।

हिउँदमा खेती गर्नेहरु बढेसँगै कलेस्ती फाँटमा अहिले हरियाली छाएको हो । बिगत चार वर्षअघि हिउँदमा जम्मा २० प्रतिशत भन्दा बढी भागमा खेती नहुने कलेस्ती फाँटमा अहिले ८० प्रतिशत भन्दा बढी क्षेत्रफलमा हिउँदे खेती गर्न थालिएको छ ।

सिंचाइको राम्रो सुविधा भएको यो फाँट तनहुँका उर्वर उपत्यका मध्येको एक हो । राम्रो खेतीयोग्य जमिन हुँदाहुँदै पनि त्यसको अधिकतम् उपभोग हुन नसक्दा बाँझिने क्रम बढेसंगै अहिले स्थानीय युवाहरु अग्रसर भएका छन् । ‘वर्षाको समयमा धान रोप्ने र कोही कसैले आलु लाउथे भने अधिकांश खेत बाँझै रहन्थ्यो’, स्थानीय विष्णु अधिकारी भन्छन्, ‘तर अहिले हामी समुहमा आवद्ध भई हिउँदमा पनि राम्रो उब्जनी गर्न थालेपछी खेत बाझो राख्ने क्रम घटेको छ ।’

निर्वाहमुखी खेती मात्र हुँदै आएको कलेस्ती फाँटमा अहिले व्यावसायिक कृषि गतिविधि बढेको अधिकारीले बताए । सुनौलो कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘कृषिलाई व्यवसायिककरण गरी त्यस ठाउँको समृद्धिको अभियानमा कृषकहरु जोडिन थालेका छन् । २०६८ सालमा सहकारी स्थापना भएपनि २०७५ सालबाट सहकारीले कृषक प्रोत्साहनका विभिन्न कार्यक्रम सुरुवात गरेपछि हिउँदे खेती गर्ने कृषकको संख्या वृद्धि भएको छ ।’

कृषि क्रान्तिको सपना बोकेर जन्मिएको यस सहकारीले उद्देश्य अनुरुप काम गर्न थालेको सहकारीका अध्यक्ष अधिकारीले बताए । वास्तविक कृषकलाई अनुदान लगायतका कार्यक्रममा जोडन सफल भएपछि यहाँका किसानहरु उत्साहित भएका छन् । मल तथा बिउ बिजन समयमा उपलब्ध नहुने समस्याले कृषकमा नैराश्यता पैदा हुने गरेको थियो तर अहिले यसको व्यवस्थापन सहकारीले गर्दै आएको उनले बताए ।

सुरुवाती दिनमा मल वितरणबाट कृषि क्रान्तिको अभियान थालेको सहकारीले अहिले कार्ययोजना बनाएर कृषि र कृषक सम्वद्ध विभिन्न गतिविधि सञ्चालन गरिरहेको अध्यक्ष अधिकारीले बताए । मलपछि अनुदानमा धान, आलु लगायतका बिउ उपलब्ध गराउन थलिएको छ । उनले भने, ‘सुरुमा थोरैबाट थालिएको अभियानले बिस्तारै व्यापकता लिदैछ ।’

सहकारीले २०७७/०७८ सालमा कृषि ज्ञान केन्द्र तनहुँको धान ब्लकको दुइ वर्षे कार्यक्रम सञ्चालन गरेको थियो । कलेस्ती फाँट धान ब्लक समन्वय समिति नाम दिएर सहकारी मार्फत ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ र प्रविधि हस्तान्तरण गरिएको अधिकारीले बताए । उनले भने, ‘पहिलो वर्ष अनुदानमा १२ टन धानको बिउ, १३ जनालाई जोत्ने मिनि टेलर, १ जनालाई धान झार्ने थ्रेसर र समान बोक्न पावर टेलर वितरण गरियो भने साना सिंचाइ मार्फत ६ वटा कुलो सुधारका कार्यक्रम सम्पन्न गरिएको थियो ।’

‘दोस्रो वर्ष १० टन धानको बिउ, ९ वटा मिनि टेलर हस्तारण गरी ४ वटा सिंचाइ कुलो निर्माण गरियो’, उनले भने, ‘धान ब्लक मार्फत खेतको माटो परिक्षण, तालिम तथा गोष्ठी सञ्चालन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । धान ब्लक कार्यक्रमले धानको उत्पादन बृद्धिसँगै किसानहरुमा मलको प्रयोग, माटो अनुकुल हुने धानको प्रजातीका बारेमा सचेतना समेत बढाएको छ । त्यस्तै कृषि प्रविधिकरणमा समेत यो कार्यक्रमले सहयोग गरेको छ ।’

धान ब्लकको कार्यक्रमपछि अहिले कृषकहरु आलु खेतीमा आकर्षित भएका छन् । २०७८/०७९ सालमा कृषि ज्ञान केन्द्रकै आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत १२० रोपनी क्षेत्रफलमा कृषकहरुले सामुहिक रुपमा आलु खेती गरेका थिए । यसबाट कृषकहरुले ४० टन आलु उत्पादन गरेका छन् । ज्ञान केन्द्रले १ रोपनीमा आलु खेती गरेवापत ५ हजारका दरले अनुदान दिएपछि आले खेती तर्फ किसानहरु उत्साहित भएका थिए ।

निर्वाहमुखी ढंगले मात्रै आलु खेती गर्दै आएका यहाँ कृषकहरु अहिले व्यक्तिगत वा सामुहिक रुपमा अहिले व्यवसायिक रुपमा आलु खेती गर्न थालेका छन् । अगामी बर्ष आलु खेतीलाई थप व्यवस्थित र बृहत बनाउन सहकारीले २५ टन आलु बिउका लागि कोल्ड स्टोरमा राखेको छ भने बाँकी रहेको उत्पादन स्थानीय बजारमा बिक्री वितरण गरेको छ । रानीपानी समूहका ९ जना, गजौडे समूहका १० र अन्य व्यक्तिहरु व्यक्तिगत रुपमै आलु उत्पादनमा जोडिएका थिए ।

यस्तै, आलु उत्पादनको दृष्टिकोणले उक्त माटो अति नै उर्वर देखिएकाले यसलाई निरन्तर रुपमा अगाडि बढाउन कृषकहरु कस्सिएका छन् । ‘पहिला पहिला वडाबाट बिउ लिएर निर्वाहका लागि मात्र खेती गरिएको थियो । अहिले कृषि ज्ञान केन्द्रको कार्यक्रमले यहाँको सम्भावनालाई हेरेर परिक्षणको अवसर दियो । जसले गर्दा हामी सफल भएका छौं’, अध्यक्ष अधिकारीले भने, ‘नगरपालिकाले आलु उत्पादनको जिम्मा दिएमा व्यास नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सक्ने अवस्थामा हामी पुगेका छौं । हाम्रो यो कलेस्ती फाँटमा आलुखेती प्रवर्द्धन गर्न सके जिल्लाकै मागलाई धान्न सक्छ भन्ने हामीलाई लागेको छ ।’

सहकारी आउन भन्दा पहिला अनुदानका कार्यक्रममा वास्ताविक किसानको पहुँच पुगेको थिएन । अहिले सहकारी मार्फत कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पातल, नगरपालिकाको कृषि शाखाबाट प्रदान गरिने अनुदानमा किसानको पहुँच वृद्धि भएको छ । जसबाट किसानहरु उत्साहित र लभान्वित दुबै भएका छन् ।

अहिले सहकारीले १५ रोपनी जग्गा भाडामा लिएर आफ्नै सक्रियतामा १० रोपनी जग्गामा मकै खेती गरेको छ । किसानहरुलाई कृषि प्रति प्रोत्साहन गर्न मकै खेतीको सबै काम सञ्चालक समितिले गरेको अध्यक्ष अधिकारीले बताए । सहकारीका ३०६ जना सदस्य मध्ये २२ जनाले व्यवसायिक रुपमा कृषि कर्म गर्ने गरेका छन् । सहकारीले धान, मकैसँगै तरकारी, फलफूल उत्पादनका कार्यक्रम अगाडि बढाएको छ ।

व्यास नगरपालिकाको तरकारी पकेट कार्यक्रम अर्न्तर्गत सहकारीले १४० रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गरिरहेको छ । जसमा मौसमी र बेमौसमी दुबै प्रकृतिका तरकारी खेती गरिएको छ । गएको असोजमा तरकारी खेतीका लागि नगरपालिकासंग सम्झौता भएर अहिले तरकारी उत्पादनको काम भइरहेको छ ।

सम्झौता बमोजिम सहकारीले १४० रोपनी क्षेत्रफलमा तरकारी खेती गरेवापत नगरपालिकाले कृषकहरुलाई ६ रुपैयाँ लाख अनुदान दिने र ६ लाख कृषकहरुको लगानीमा उक्त कार्यक्रम सञ्चालन भइरहेको सहकारीले जनाएको छ । बिउ बिजन, तालिम, अवलोकन भ्रमण, टनेल प्लाष्टिक, थोपा सिंचाइ लगायत गरी कुल १२ लाखको लागत साझेदारीको कार्यक्रम भएको अध्यक्ष अधिकारीले बताए । उत्पादित उपज सहकारीले दमौली स्थित तनहुँसुर मिनि मार्केट भित्र सञ्चालक समितिका सहसचिव पुरुषोत्तम पौडेललाई जिम्मा दिइएको छ ।

कलेस्ती उपत्यकामा अदुवा, बेसार, कुरिलो लगायतको खेती पनि गर्न थालिएको छ । सहकारीले बेसारलाई ब्राण्डको रुपमा बिकास गर्ने योजना अगाडि ल्याएको छ । सहकारीमा आवद्ध कृषक समूहलाई विभाजन गरी एउटा एउटा उत्पादनको जिम्मा लगाउने योजना सहकारीले बनाएको छ । फरक फरक समूहले फरक खालका उत्पादन गर्दा सहकारी मार्फत धेरै खाले उत्पादन बढाउन सकिने र स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि मदत पुग्ने अध्यक्ष अधिकारीले बताए ।

सहकारीले अहिले तरकारी, फलफूल र माछामासु उत्पादनलाई नै बढी जोड दिएको छ । स्थानीय प्रजातीका रैथाने बिउ संकलन गर्ने अभियानमा पनि सहकारी जुटेको छ । बिउमा आत्मनिर्भर हुने गरी बिउ संकलन अभियान र वितरण योजना अन्तर्गत सहकारीले राम धान र सावित्री धानको १० टन बिउ बैशाखमा वितरण गर्ने तयारी गरेको छ ।

किसानहरुको आवश्यकता अनुसार अनुदान, ज्ञान तथा समन्वय गर्ने गरेकाले पनि कृषि अभियान अगाडि बढाउन प्रेरणा र हौसाला मिलेको कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताए । उनले भने, ‘कृषकको माग र समस्यालाई सम्बोधन गर्न हामी फिल्डमै गएर आवश्यक सल्लाह, सुझाव प्राविधिक ज्ञान दिने गरेका छौं ।’

कलेस्ती उपत्यकामा ६० प्रतिशत जमिन बाह्रै महिना सिंचाइ हुन्छ भने ४० प्रतिशत मात्र आकाशे पानी कुर्नुपर्ने अवस्था छ । सहकारीको हाल सेयर र बचत रकम गरी ५० लाख रहेको छ । सेयर सदस्यबाट प्रति महिना २ सय उठाइन्छ भने ५ हजारदेखि ५० हजारसम्म सयेर राख्ने व्यवस्था सहकारीको रहेको छ ।

यस्तै, नगरपालिकाभित्र कोल्ड स्टोर नहुँदा यहाँका कृषकहरुको उपजले उचित मूल्य पाउन सकेको छैन् । कोल्ड स्टोरको अभावमा उत्पादनलाई छिटो र सस्तोमा बिक्री गर्न किसानहरु बाध्य भएका छन् । स्थानीय रुपमा उत्पादित वस्तुको लगात मुल्य बढी पर्ने हुँदा बिक्री वितरणमा समेत कृषकहरुले समस्या झेल्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker